समाचारबिहीबार, कार्तिक ९, २०६९
राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुपर्छः नेता नेपाल
९ कार्तिकमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले दलहरुको समर्थन विना राष्ट्रपतिले केही गर्न नसक्ने स्पष्ट पार्दै आन्दोलन चर्किएपछि त्यसको जगमा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई हटाएर नयाँ प्रधानमन्त्री नियूक्त गर्न सक्रियता देखाउनु पर्ने धारणा राखे ।
“आन्दोलन सशक्त भएपछि राष्ट्रपतिलाई कदम चाल्न अनुकुल बातावरण बन्छ,” उनले भने, “अहिले दलहरुले सहमतिमा प्रधानमन्त्री दिन नसके बहुमतको सरकार बनाउनु पर्ने अवस्थामा अप्ठ्यारो पर्न सक्छ ।”
नेता नेपालले दशै तिहारपछि सरकारका लागि अप्ठ्यारो दिन आउने भन्दै राजनीतिक, संबैधानिक संकट र आन्दोलनले सरकार अप्ठ्यारोमा पर्ने दावी गरे । नेपालले थपे, “हामी बजेट पनि ल्याउन दिंदैनौ ।”
गतिरोध अन्त्यका लागि आन्दोलन र जनपरिचालन बाहेक अरु केही पनि विकल्प नभएको उनको भनाई थियो । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालको पैसा कमाउनेमात्रै लक्ष्य भएको आरोप लगाउँदै पहिले लडाकुका नाममा पैसा खाएको र अहिले सत्ताको आडमा चन्दा आतंक मच्चाएको दाबी गरे । उनले भने, “ठूला ठूला आयोजना कब्जा गरेर पैसा असुल्ने दाउमा मात्रै छन, बालुवाटार भित्र त त्यस्तो ग्याङ नै छ ।”
माओवादीले देश बनाउनभन्दा पनि मुलुकमा जातीय दंगा भड्काएर देश टुक्राउन उद्दत भएको भन्दै उनले चेतावनी दिए, “माओवादीले पनि ज्ञानेन्द्रको जस्तै खाउँला भनेर सोचेको भए त्यो दिवास्वप्न मात्रै हुनेछ ।”
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिप्ले किराजस्तो भन्दै नेता नेपालले कुरा मिठो मिठो गर्ने तर काम केही नगर्ने दाहालको बोलीमा विश्वास नभएको बताएका थिए ।

