समाचारमंगलबार, फाल्गुण १९, २०७१
कञ्चनपुर: टापूमा फसेका सबै ४१ जनाको उद्धार

नदी बीचमा फसेकालाई बोटबाट उद्धार गर्दै नेपाली सेना । तस्वीर: बच्चु बिक
महाकाली नदीको बीच भागमा रहेको टापूमा अलपत्र परेका स्थानीय बासिन्दाको सुरक्षा निकायले १९ फागुन दिउँसो उद्धार गरेको छ ।
बालुवा र गिट्टी सङ्कलन गर्न नदीको बीचमा रहेको टापूमा पुगेका ४१ जना पानीको बहाव बढेपछि त्यहाँ फसेका थिए ।
नेपाली सेनाको महेन्द्रनगरस्थित हनुमानध्वज गुल्मका गुल्मपति सेनानी डम्बरबहादुर आलेमगरले दिएको जानकारीअनुसार भीमदत्तनगरपालिका–१३ ऐरी घाट क्षेत्रमा महाकाली नदीको बीच टापूमा फसेका बालबालिकासहित ४१ जनाको सकुशल उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी र सेनाको टोलीले डुङ्गाको सहारामा उनीहरुलाई सकुशल उद्धार गरेको सेनानी आलेमगरले बताए ।
तीन दिन लगातार परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदीको बीच टापूमा बालुवा, ढुङ्गा सङ्कलन गर्ने र गिट्टी कुट्नेहरु अलपत्र परेका हुन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेका अनुसार महाकाली नदी किनारको टापूमा गएर बालुवा, ढुङ्गा र गिट्टी सङ्कलन गर्ने उनीहरु त्यहीं छाप्रा बनाएर काम गर्दथे ।
आज एक्कासि पानी बढेपछि समस्या भएको हो ।
