समाचारमंगलबार, फाल्गुण १९, २०७१
कांग्रेस–एमालेले बैठक बोलाउन सभाध्यक्षलाई आग्रह गर्ने
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले झण्डै एक महिनादेखि स्थगित संविधानसभा बैठक बोलाउन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आग्रह गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले तत्काल संविधानसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए । उनले भने, ‘‘संविधानसभा बैठक बोलाएर संविधान निर्माण प्रक्रिया अघि बढाउनलाई सभाध्यक्षलाई आग्रह गर्ने निर्णय भएको छ ।’’
विपक्षी दलहरुसँग २१ फागुनबाटै सहमतिका लागि वार्ताको पहल गर्ने निर्णय पनि भएको छ । वार्ताको जिम्मेवारी कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले दिइएको छ ।
सरकारबाट नहट्ने एमाले प्रस्टोक्ति
बैठकमा एमालेले कांग्रेससँगको संयुक्त सरकारबाट हट्ने निर्णय आफूले नगरेको स्पष्ट पारेको छ । १९ फागुनमा बसेको एमाले स्थायी कमिटीले सत्ताबाट हट्ने निर्णय गरेको भन्ने चर्चा चलेपछि एमालेले आफ्नो निर्णय प्रष्ट पारेको हो ।
कांग्रेस सह–महामन्त्री खड्काले भने, ‘‘प्रधानमन्त्रीले एमाले नेताहरुलाई तपाईहरु सरकारबाट हट्ने निर्णय गरेको हो ? भनेर सोध्नुभयो । एमालेले त्यस्तो निर्णय नगरेको भनेपछि संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेका छौं ।’’
