समाचारशुक्रबार, फाल्गुण २२, २०७१
त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमान पन्छाउने काम जारी

तस्वीर: बिक्रम राई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमान हटाउने काम अझै जारी छ ।
भारतबाट उपकरणसहित आएको टोलीले आज अपराह्नसम्म काम सक्ने अनुमान गरिएको छ । त्यसपछि मात्र अन्तर्राष्ट्रिय उडान शुरु हुने विमानस्थलका प्रबन्धक पूर्णप्रसाद चुडालले जानकारी दिए। विमानस्थलले औपचारिक रुपमै २२ फागुन अपराह्न ५ बजेसम्म अान्तरिक उडान नहुने जनाएको छ ।
चुडालका अनुसार जमिनमा धसिएको चक्कामा ब्राल्डर (बेलुन) राखेर उठाउने काम भइरहेको छ, अब चक्कालाई गति दिएर तान्ने काम मात्र बाँकी छ ।
विमानस्थलको धावन मार्गको किनारमा दुर्घटनामा परेको सो एयरलाइन्सको विमान हटाउन भारतीय वायु सेनाको विमान विज्ञ टोली उपकरणसहित २१ फागुनमा काठमाडौँ आइपुगेको थियो । विमान पन्छाउने उपकरण नहुँदा २० फागुन बिहान ८ बजेदेखि प्रस्थान र अवतरण गर्दै आएका अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ ।
टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा २० फागुन बिहान धावन मार्गको पश्चिमपट्टि किनारमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको थियो ।
विमानस्थलबाट हुने आन्तरिक उडान भने नियमित रूपमा सञ्चालन भइरहेको छ ।
विमान दुर्घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग सञ्चालन हुन नसक्दा विश्वको विभिन्न गन्तव्यमा जान लागेका हजारौँ यात्रु मर्कामा परेका छन् ।
रासस
