समाचारशनिबार, फाल्गुण २३, २०७१
दलहरुबीच औपचारिक वार्ता सुरु, अन्तर्वस्तुमा छलफल
नयाँ संविधानका अन्तर्वस्तुमा सहमति नजुटेपछि अवरुद्ध दलहरुबीचको सम्वाद पुनः सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा २३ फागुनमा सत्ता पक्ष र विपक्षी मोर्चाबीच सहमतिमा संविधान जारी गर्ने विषयमा अाैपचारिक वार्ता सुरु भएको हो । उक्त वार्तामा शीर्ष नेताहरुले विवादित विषयमा सहमति खोज्न वार्तालाई जारी राख्ने निर्णय गरेको छ ।
सत्तारुढ दल कांग्रेस–एमाले र विपक्षी मोर्चाका नेताहरुले सहमतिको खोज्न अर्काे चरणमा वार्ता जारी राख्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी संघीय लिम्बुवान परिषदका अध्यक्ष कुमार लिङ्देनले बताए ।
५ माघपछि आन्दोलनतिर लागेको मोर्चा र संविधानसभाको दुई तिहाई मतबाट निर्णय गर्दै अघि बढेको सत्तारुढ दलका नेताहरुबीच संविधान अन्तर्वस्तुमाथि नै छलफल सुरु भएको छ ।
विपक्षी मोर्चाका संयोजक पुष्पकमल दाहालले शासकीय स्वरुपमा आफुहरु लचक हुने र संघीयतामा सत्ता पक्ष लचक हुनुपर्ने माग राखेका थिए । तर, यो प्रस्तावमा थप छलफल गर्ने निर्णय गरेको बैठकले अर्काे बैठकको मिति तोक्न प्रधानमन्त्री सुशील कोइराला र मोर्चाका संयोजक दाहाललाई जिम्मेवारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री कोइराला, उपप्रधानमन्त्री एवम् एमालेका उपाध्यक्ष बामदेव गौतम, एमाओवादीका अध्यक्ष एवम् मोर्चाका संयोजक दाहाल, मधेशी जनाधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छदारलगायतले बोलेका थिए ।

