समाचारआइतबार, फाल्गुण २४, २०७१

वार्तामा किन गएनन् अाेली ?

हिमालखबर

सत्तापक्ष र विपक्षी मोर्चाले झन्डै डेढ महिनापछि शनिबार शनिबार सुरु भएको औपचारिक वार्तामा केही शीर्षस्थ नेता अनुपस्थित रहे।

४७ दिनपछि वार्ताको कडी जोड्न प्रधानमन्त्रीले डाकेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बैठकमा गएनन् । यसअघिका अधिकांश बैठकमा सहभागी रहँदै आएकी एमाले उपाध्यक्ष विद्या भण्डारी पनि उपस्थित भइनन् ।

बिहान ९ बजे बैठक सुरु भए पनि केही समय एमाले अध्यक्ष ओलीको प्रतीक्षामा बितेको थियो । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री वामदेव गौतमले अध्यक्ष ओली तीन दिनदेखि अस्वस्थ रहेको भन्दै उपस्थित हुन नसक्ने जानकारी गराएपछि बैठक सुरु भयो ।

“उहाँ (ओली) लाई रुघाखोकीको समस्या हो । घरमै आराम गर्नुभएको हो”, ओलीका स्वकीय सचिव इन्द्र भण्डारीले भने, “सामान्य हो, अन्य औपचारिक कार्यक्रममा पनि जानुभएको छैन ।”

भण्डारीले २३ फागुनका लागि पहिले नै तय भएको जनकपुरको कार्यक्रममा पनि ओलीको साटो महासचिव ईश्वर पोखरेल सहभागी भएको जानकारी दिए ।

२१ फागुनमा फागू पूर्णिमाका दिन महाकाली–काठमाडौं सम्पर्क मञ्चको टोली ओलीनिवास, बालकोट पुगेका बेला उनले पनि देउडा गाउँदै होली खेलेका थिए । कर्णाली अञ्चल समन्वय कमिटीले शुक्रबार कर्णालीको विकासबारे पार्टी र सरकारले गर्नुपर्ने कामको फेहरिस्त अध्यक्ष ओलीलाई बुझाएको थियो ।

विपक्षीसँगको बैठकमा एमालेका तर्फबाट उपाध्यक्ष गौतम र महासचिव पोखरेल सहभागी रहेका थिए । वरिष्ठ नेता झलनाथ खनाल एसियाली राजनीतिक दलहरूको बैठकमा सहभागी हुन मलेसिया गएका छन् भने नेता माधवकुमार नेपालले बैठकबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

तर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने एमाले अध्यक्ष ओली सहभागी हुने वार्तामा नजाने मधेसी मोर्चाको निर्णयअनुसार आफू २३ फागुनको बैठकमा नगएको जानकारी दिए ।

“एमाले अध्यक्ष ओलीले मधेसलाई अपमान हुने गरी दिएको अभिव्यक्तिमा माफी नमागेसम्म सहभागी नहुने मोर्चाको पहिलो निर्णय हो। त्यसैले हाम्रो पार्टीको सहभागिता नभएको हो”; महतोले भने, “कि मोर्चाले निर्णय फिर्ता लिनुपर्योल कि त ओलीले माफी माग्नुपर्योो”

महतोले २३ फागुन बिहानै एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर एमाले अध्यक्ष ओलीको सहभागिताबारे जानकारी लिएका थिए ।

“माओवादी अध्यक्ष दाहालसँग बैठकमा एमाले र अध्यक्ष ओलीको सहभागिताबारे सोधेको थिएँ”, उनले भने, “आउने भनेपछि म बैठकमा आउँदिनँ भन्ने जानकारी दिएको थिएँ ।” महतोले बैठक परिणामुखी हुनेमा आशावादी नभएकाले पनि जाँगर नचलेको बताए ।

बैठकमा मधेसी मोर्चामा रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव भने सहभागी थिए ।

डेढ महिनाअघि सत्तारूढ र विपक्षी मोर्चाको बैठकमा एमाले अध्यक्ष ओलीले समथर भूभाग देखेपछि सबै चाहिने भए युपी (उत्तर प्रदेश) र बिहारका भूभाग पनि ल्याएर प्रदेश निर्माण गर्नुपर्ने बताएपछि मधेसी मोर्चाले ओली सहभागी बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।

शनिबारको बैठकमा मधेसी मोर्चाकै घटक मधेसी जनअधिकार फोरम नेपाल पनि सहभागी भएन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्वनिर्धारित कार्यक्रम रहेकाले बैठकमा जान नसकेको बताए ।

नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>