समाचारबिहीबार, फाल्गुण २८, २०७१
बेहुला–बेहुलीसहित जन्ती केहीबेर प्रहरी नियन्त्रयणमा
-सानुबाबु तिमिल्सिना, धादिङ
बहुविवाहको उजुरी परेपछि वेहुली लिएर फर्किरहेको जन्तीलाई धादिङ प्रहरीले केही बेर नियन्त्रणमा लिएर छोडेको छ ।
चैनपुरका ३० बर्षीय चन्द्रबहादुर इटनीले बहुविवाह गरेको मौखिक उजुरी परेपछि चितवन गड्यौलीबाट बेहुली लिएर फर्किरहेको जन्तीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले बेहुलाबेहुलीसहित जन्तीलाई आफन्तको रोहबरमा छोडेको छ ।
इटनीले २०६४ सालमा पहिलो विवाह गरेका थिए । जेठी श्रीमतीले सम्बन्ध विच्छेदका लागि दर्ता गराएको मुद्दा विचाराधीन अवस्थामा रहेको बेला अर्काे विवाह गरेको भन्दै इटनीलाई बहुविवाहको उजुरी दिएकी थिइन् ।
लामो समयदेखि पारिवारिक विवाद रहेको र सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेकाले दुई पक्षलाई सँगै राखेर छलफल गराउने सर्तमा जन्तीलाई छोडिएको धादिङ प्रहरीका प्रहरी निरीक्षक बासुदेव थापाले बताए ।
२७ फागुन साँझ जन्तीलाई केहीबेर प्रहरी नियन्त्रणमा लिएर छोडिएको थियो ।
