समाचारशुक्रबार, फाल्गुण २९, २०७१
डा. गोविन्द केसी फेरि अनसन बस्ने
प्राडा गोविन्द केसीले मेडिकल कलेजको सम्बन्धनलगायतका विगतमा भएका सम्झौता पूरा गर्न सरकारलाई १० दिने अल्टिमेटम दिएका छन् ।
देशमा चिकित्सा शिक्षाको गुणस्तर बृद्धि, चिकित्सा सेवामा सवैको पहुँच सुनिश्चित्ताका लागि संघर्षरत डा.केसीले १० बुँदे माग सार्वजनिक गरेर आमरण अनसन बस्ने घोषणा गरेका हुन् ।आफ्ना माग पूरा नभए आगामी ८ चैतदेखि उनी पुनः आमरण अनसन बस्नेछन् ।
डा.केसीले सरकारले पटकपटक सम्झौता गर्ने, तर कार्यान्वयनमा भने चरम उदासिनता र लापरवाही देखाएकाले आफू अनसन बस्न बाध्य भएको बताए ।
चिकित्सा शिक्षा नीति, चिकित्सा विश्वविद्यालय निर्माण नभएसम्म कुनै पनि नयाँ मेडिकल कलेजलाइ सम्बन्धन नदिने नीति कायम राख्नुपर्ने उनको प्रमुख मागमध्ये एक हो ।
मेडिकल कलेज सम्वन्धन लगायतका प्रकरणमा अनियमितता र भ्रष्ट गतिविधिमा संलग्न त्रिवि पदाधिकारी र सरकारले गठन गरेको उच्च स्तरिय समितिले तोकेर दिएका भ्रष्ट पदाधिकारीमाथि तत्काल कारवाही प्रकृया शुरु गर्नु पर्ने मागसमेत डा.केसीको छ ।
विगतको सहमति र मन्त्रिपरिषदको निर्णय विपरित काठमाडौ विश्वविद्यालले हालै दुइृ मेडिकल कलेजलाइृ सम्वन्धन दिएको जनाउदै डा. केसीले केयु पदाधिकारीहरुलाई उचित कारवाहीसँगै नयाँ चिकित्सा नीति नबन्दासम्म उक्त सम्वन्धन रोक्न माग गरेका छन ।
