समाचारशुक्रबार, फाल्गुण २९, २०७१

प्रहरी नायब महानिरीक्षकले माइक्रोबस रोकेपछि !

हिमालखबर

रत्नपार्क जाँदै गरेको* माइक्रोबसलाई हात्तीगौँडामा प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले रोक्नका लागि हात देखाए ।

प्रहरीका उच्च हाकिमले नै गाडी रोकाएपछि गाडी चालक आफ्नो केही गल्ती भएको हो कि भनी चिन्तित देखिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख चन्द आफ्ना सहयोगीसहित सरासर गाडीभित्र चढे र दोस्रो लहरमा बसे । गाडी चालक अक्क न बक्क भए, प्रमुख चन्दले गाडी चलाउन आग्रह गरेपछि गाडी हुइँकियो ।

गाडीमा प्रमुख चन्दले महिला सिटमा नियमित रुपमा बस्न पाएको वा नपाएको बारे महिलाहरुसँग सोधपुछ गरे। त्यस्तै गाडी चालकसँग उनीहरुका अप्ठेराबारे पनि जिज्ञासा राखे ।

आरक्षण सिटमा बस्न आग्रह गर्दा यात्रु झगडा गर्न खोज्ने, ओर्लिएर हिँड्न खोज्ने, खुद्रा पैसा नहुँदा पैसा फिर्ता गर्न समस्या हुनेलगायत समस्या रहेको गुनासो गाडी चालकले चन्दसमक्ष राखेका थिए ।

आफू सवार माइक्रोबस पुरानो बसपार्क आइसकेपछि चन्दले गाडी भाडा दिन खोज्दा गाडी चालकले सहचालकलाई भाडा नलिन भने । चन्दले भाडा लिनु र दिनु कर्तव्य भएको बताउँदै आफ्ना सहयोगी र आफ्नो गरी रु १८ का दरले रु ३६ भाडा तिरी गाडीबाट ओर्लिएर भृकुटीमण्डपबाट रामशाहपथसम्म हिँड्दै आए ।

काठमाडौँ उपत्यकास्थित ट्राफिक प्रहरी एकाइमा कार्यरत सबै तहका ट्राफिक प्रहरी कर्मचारीले कार्यालय आउँदा र कार्यालयबाट घर वा डेरा फर्किँदा २९ फागुनदेखि हरेक शुक्रबार अनिवार्य रूपमा सार्वजनिक सवारीसाधनको प्रयोग गर्ने निर्णयअनुरुप आज चन्दले सार्वजनिक सवारीसाधन चढी आफ्नो घर हात्तीगौँडाबाट रामशाहपथस्थित कार्यालयमा आएका हुन् ।
ट्राफिक प्रमुख चन्द सार्वजनिक सवारीमा सर्वसाधारणको आकर्षण बढाउने उद्देश्यसहित अभियान शुरु गरिएको र यसलाई निरन्तरता दिइने बताउँछन् । उनी भन्छन्, “साझा यातायातमा ६० जना यात्रु अटाउँछन् तर तीन वटा कारमा १५ जना मात्रै यात्रु अटाउँछन्, धेरै निजी सवारीसाधनलाई उपत्यकाको सडकले धान्न सक्ने अवस्था छैन, त्यसैले सबैलाई सार्वजनिक सवारीमा आकर्षण बढाउन सक्नुपर्छ ।”

ट्राफिक कार्यालयका अधिकृतले सार्वजनिक यातायातका सवारी प्रयोग गर्दा अनुगमन र जाँचको दायरा फराकिलो भई त्यहाँका विकृति र समस्याबारे थाहा पाउने अवसर प्राप्त हुने र त्यसलाई निराकरणका लागि योजना बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
बढी भाडाको गुनासो
भाडा बढी लिने, आरक्षण सिटको पालना नहुने, यात्रु कोचाएर राख्ने, यात्रुसँग दुव्र्यवहार गर्नेलगायत समस्या सार्वजनिक सवारीका साधनमा हुने गरेको गुनासो रहेको छ ।

रासस

* सम्पादन गरिएकाे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>