समाचारशुक्रबार, फाल्गुण २९, २०७१
विषय केन्द्रित छलफल गर्ने एमाले र एमाओवादीको निर्णय

तस्वीर: देवकी बिष्ट
नेकपा एमाले र एमाओवादीबीच नयाँ संविधानका विवादित विषयमा सहमति खोज्न विषयकेन्द्रित छलफललाई जोड दिने निर्णय भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको दुई दलको अनौपचारिक छलफलमा विवादित विषयलाई टुंग्याएर सहमतिमा संविधान निर्माणका लागि पहल गर्ने निर्णय भएको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।
उनका अनुसार २९ फागुनको बैठकमा पनि संघीयताबारे छलफल भएको छ । एमाओवादी नेताहरुले संख्यामा लचक हुने तर नामाकंन र सीमांकनको पूर्वअडान छोड्न नसकिने बताएका थिए ।
एमालेले आफ्नो पूर्व अडान नै दोहोर्याएपछि ठोस निर्णय भने हुन सकेन । तर, अनौपचारिक वार्तालाई कायम राखेर सहमति खोज्ने निष्कर्षमा दुवै दल पुगेका छन् ।
एमाले अध्यक्ष ओली पछिल्लो पटक अस्वस्थ्य भएपछि एमाओवादी नेताहरु पहिलो पटक बालकोट पुगेका हुन् ।
