समाचारशनिबार, फाल्गुण ३०, २०७१
अब संविधानसभाको बैठक स्थगन हुँदैन: नेम्वाङ

तस्वीर: देवकी बिष्ट
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधान लेखनका लागि धैरै समय बाँकी नरहेकाले अब बस्ने संविधानसभाको बैठक स्थगन नहुने बताएका छन् ।
संविधानसभाको बैठक अनिश्चित समयसम्मका लागि स्थगन भएको ३० दिन पुगेको छ । पछिल्लो पटक २९ माघमा बैठक बसेको थियो । बैठक बोलाउने विषयमा दलहरुका औपचारिक तथा अनौपचारिक बैठकले पनि सार्थक रुप लिन सकिरहेको छैन ।
स्वयम्सेवी सामाजिक संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए२ को तेस्रो राष्ट्रिय महाधिवेशनलाई ३० फागुनमा काठमाडौंमा सम्बोधन गर्दै नेम्वाङ्ले भने, “जनतासित संविधान प्राप्त गर्ने समय धैरै छैन, अहिलेसम्म धैर्य र सहनशील भई बसिरहेका छन् उनीहरु, यसैले अब बस्ने संविधानसभाको बैठकले संविधान मस्यौदा नबनुन्जेल निरन्तर रुपमा छलफल गर्नुपर्छ ।”
नेम्वाङले संविधान लेखनमा दलहरु सहमतिको नजिक पुगेको भए पनि सहमति गर्न नचाहेको कारण आफूले नबुझेको भन्दै थपे, “नेताहरुले नसक्नुभएको होइन, मलाई पूर्ण विश्वास छ सक्नुहुन्छ तर किन चाहिरहनुभएको छैन ?”
शीर्ष नेताहरुले संविधानका विवादित अन्तर्वस्तु न्याय र निर्वाचन प्रणाली, शासकीय स्वरुप र राज्यको पुनःसंरचनका विषयमा चुड्कीका भरमा सहमति हुन्छ भनेर आफूलाई बताएको भएपनि अहिलेसम्म सहमति नगर्नुको कारण के होला भन्दै उनले नेताहरुलाई प्रश्न गरे ।
रासस
