समाचारआइतबार, चैत्र १, २०७१
रानीबारी हत्याकाण्डका दुई अभियुक्त पक्राउ, अर्कैलाई मार्न खोज्दा इन्जिनियर दम्पति मारिए

रानीबारी हत्याकाण्डका अभियुक्त द्वय मनराज र प्रमेश । तस्वीर: डम्बरकृष्ण श्रेष्ठ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) १२ वर्षअघि भएको रानीबारी हत्याकाण्डका २ अभियुक्तलाई पक्राउ गरेको छ ।
काठमाडौंको रानीबारीमा ३१ असार २०५९ मा ईन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको हत्या भएको थियो ।
सीआइबीले हत्या अभियोगमा दोलखाका ३० वर्षीय मनराज गुरुङ्लाई सामाखुशीबाट र रामेछापका ३२ वर्षीय प्रमेश पुन*लाई जोरपाटीबाट पक्राउ गरेको हो ।
दुवैजना कन्ट्र्याक्ट किलर भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ दम्पती
डिआइजी हेमन्त मल्लका अनुसार अभियुक्तहरुले सोही घरको माथिल्लो तलामा बस्ने घरधनी गीता खड्कालाई मार्न गए पनि पहिचान हुन नसक्दा इन्जिनियर दम्पतीको हत्या गरेका हुन् ।
त्यसबेला लुकेर बचेकी खड्का म्यान पावर एजेन्सी चलाउँथिन् । उनले नक्कली राहदानी र भीषामा बैदेशिक रोजगारमा पठाउने गरेको आरोप लागेको छ । खड्का घटनापछि मुलुकबाहिर छिन्।
यसअघि १० वटा अनुसन्धान समिति बनाए पनि हत्यारा पक्राउ गर्न नसकेको प्रहरीले गत असोजदेखि अनुसन्धान पुन: शुरु गरेको र मानवीय सूचनाका आधारमा अभियुक्तद्वयलाई पक्राउ गर्न सकिएको सीआइबी पीलर वन प्रमुख डिएसपी भीम दाहालले जानकारी दिए ।
अभियुक्तहरु दुवैले रु दुई लाख लिएर हत्या गरेको तर हत्या गर्न लगाउने भने विदेशमा रहेको प्रहरीले बताए पनि हत्याका मुख्य योजनाकारको नाम खुलाएको छैन । दुवै अभियुक्तले श्रेष्ठ दम्पतीको हत्या गरेको ९ महिनापछि १७ वैशाख २०६० मा लिलामाया गिरीको गोलढुंगामा हत्या गरेका थिए ।
लिलामायाकै पति सीताराम रेग्मीबाट ६ लाख रुपैयाँ लिइ हत्या गरेका उनीहरुमध्ये मनराज गुरुङ् १३ महिना र प्रमेश पुन साढे ८ वर्ष कैद सजाय भोगेर छुटेका थिए ।
* सच्चाइएको
