समाचारआइतबार, चैत्र १, २०७१
मोर्चाद्वारा अामहड्तालसहित आन्दोलन घोषणा
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
१ चैतमा बसेको मोर्चाको बैठकले ५ चैतदेखि आन्दोलन थाल्ने निर्णय गरेको छ । मोर्चाका एक घटक संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठका अनुसार वार्ता र आन्दोलन सँगसँगै लैजाने निर्णय भएको छ ।
बैठकले प्रधानमन्त्री सुशील कोइरालाको ‘वीन–वीन हुनेगरी सहमति र गिभ एण्ड टेक’भन्ने शब्द थेगो भएकाले आन्दोलनमा जोड दिने निर्णय भएको श्रेष्ठले बताए । उनले भने, ‘‘प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको छायाँ हुनुभएको निष्कर्ष निकाल्यौं र आन्दोलनमै जाने निर्णय भयो ।’’
१६ फागुनमा खुल्लामञ्चमा ‘शक्ति प्रदर्शन’ गर्दै पहिलो चरणको आन्दोलन सकेलगत्तै वार्तामा बसेको मोर्चाले वार्ताप्रति सत्तारुढ दलहरु उदासिन भएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
क्रियात्मक आन्दोलनको नाम दिएको मोर्चाले कार्यकर्ता प्रशिक्षण, मन्त्रीहरुलाई जिल्ला प्रवेश निषेधदेखि अनिश्चितकालीन आमहड्तालसम्मको कार्यक्रम घोषणा गरेको छ ।
आन्दोलनको तालिका यस्तो छ
५ चैतमा देशभर कार्यकर्ता प्रशिक्षण
८ चैतमा सरकारको कामप्रति विरोध
११ चैतदेखि प्रधानमन्त्रीसहित मन्त्रीहरु र सरकारी उच्च तहका कर्मचारीलाई जिल्ला प्रवेश निषेध, कालो झण्डा प्रदर्शन
१६–१८ चैतमा जिल्ला प्रशासनसहित सरकारी कार्यालय ठप्प
१८ चैतमा मसाल जुलुस प्रदर्शन
१९ चैतमा आम हड्ताल
२०–२३ चैतमा सरकारी कार्यालय, भन्सार र राजश्व संकलन।मा अवरोध
२३ चैतमा मलास जुलुस
२४–२६ चैतमा आमहड्ताल
२६ चैतसम्मको आमहड्तालबाट पनि माग पूरा नभए अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय मोर्चाले गरेको छ ।

