समाचारमंगलबार, चैत्र ३, २०७१
बालिका पूजाका बलात्कारीलाई सर्वस्वसहित ३५ वर्ष कैद

अभियुक्त कन्हैया गुप्ता ।
बाराकी बालिका पूजा साहको बलात्कार र हत्यामा संलग्न युवकलाई जिल्ला अदालत बाराले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।
जिल्ला अदालत बाराका न्यायधीश लिप्त बहादुर थापाको इजलासले कलैया नगरपालिका–४ का २८ वर्षीय कन्हैया गुप्तालाई पूजा साहको बलात्कार र हत्यामा संलग्न रहेको ठहर गर्दै सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको हो ।
कर्तब्य ज्यान मुद्दामा सर्वस्वसहित जन्म कैद (२० वर्ष) र जबरजस्ती करणी मुद्दामा १५ वर्ष गरि कुल ३५ वर्ष कैदको सजाय तोकिएको जिल्ला अदालतका श्रेस्तेदार रोशन भटटराइले जानकारी दिए ।
पिडित परिवारलाइ गुप्ताको चल अचल सम्पतिबाट दुइ लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि अदालतले आदेश दिएको छ ।
मुद्दा पेश भएकै दिन ३ चैतमा अदालतले फैसला सुनाएको हो । अदालतमा अभियुक्तले आफ्ना सबै कसुर स्वीकार गरेकाले पेश भएकै दिन फैसला भएको भट्टराइले बताए ।
८ फागुन साँझ घरबाट बेपत्ता भएकी पूजा ९ फागुन बिहान स्थानीय श्री ३ चन्द्र उच्च मावि नजिकै बलात्कृत र बेहोस अवस्थामा फेला परेकी थिइन् ।
उनलाई उपचारका लागि काठमाडौं ल्याई कान्ति बाल अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा २५ फागुनमा निधन भएको थियो ।
बालिकाको मृत्यु पश्चात देशव्यापीरुपमा बलात्कारविरुद्ध कडा कानूनको माग गर्दै प्रदर्शन हुँदै आएको छ । बलात्कारीलाइ कडा कारवाही लगायतका माग गर्दै आन्दोलनरत ‘बेटी बचाउ संघर्ष समिति’ बाराका संयोजक प्रमोदप्रसाद गुप्ताले अदालतको निर्णयलाइ स्वागत गरेका छन् ।
श्याम गुप्ता, बारा
