समाचारमंगलबार, चैत्र ३, २०७१
उद्योग वाणिज्य महासंघका अध्यक्ष पक्राउ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । पाण्डे ३ चैत साँझ पक्राउ परेको फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक महेन्द्र उपाध्यायले जानकारी दिए ।
उद्योग वाणिज्य महासंघ अध्यक्ष पाण्डेलाई पक्राउ गर्ने बाटो खुल्यो
सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजङ्ग पाण्डेलाई पक्राउ गर्ने बाटो खोलिदिएको छ ।
सर्वोच्चले ‘तत्काल पक्राउ नगर्नू’ भन्ने अन्तरिम आदेश दिएपछि आजसम्म खुलेयाम रहेका पाण्डेलाई ३ चैतमा सर्वोच्चले आफ्नो पूर्व अन्तरिम आदेश खारेज गरिदिएपछि पक्राउ गर्ने बाटो खुलेको हो ।
२०४१ मा खानेपानी तथा ढल निकास विभागको लेखा अधिकृत हुँदा भ्रष्टाचार गरेको प्रमाणित भएर तीन वर्षको कैद सजाय पाएका पाण्डेको एक वर्ष ९ महिना २७ दिन कैद भुक्तान हुन बाँकी थियो ।
उक्त कैद भुक्तान गराउन जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न खोजेको भन्दै पाण्डे राजदरबारको विशेष जाहेरी विभागबाट कैद मिनाहा भइसकेकोले ‘काठमाडौं जिल्ला अदालतको नाममा पक्राउ नगर्नू’ भन्ने परमादेश माग गर्दै सर्वोच्च गएका थिए ।
न्यायाधीशद्धय कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको इजलासले पूर्व अन्तरिम आदेश खारेज गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता बाबुराम दाहालले हिमाललाई जानकारी दिए ।
तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगले पाण्डेले रु ९ लाख भ्रष्टाचार गरेको ठहरसहित तीन वर्ष तीन महीना १९ दिन सजाय सुनाएको थियो।
पाण्डेले अख्तियारको फैसला माथि पुनरावेदन गर्दा अघिल्लै फैसला सदर भएको थियो। पाण्डे फर्मास्युटिकल्स, हर्बल, सिमेन्ट, ब्यांकिङ लगायतका व्यवसायमा संलग्न छन्।
