समाचारशनिबार, चैत्र ७, २०७१

एघार वर्षअघि भएको बेनी आक्रमणको सम्झना

हिमालखबर

 

फाइल तस्वीर: बेनी बजार

फाइल तस्वीर: बेनी बजार

एघार वर्षअघि आजकै दिन म्याग्दीको सदरमुकाम बेनी बजारमा भएको माओवादी आक्रमणलाई म्याग्दीवासीले दुःखद घटनाका रुपमा स्मरण गरेका छन् ।

तत्कालीन माओवादीले ७ चैत २०६० मा बेनीमा आक्रमण गरेको थियो । चन्द्रप्रसाद खनाल लगायतका माओवादी नेताको प्रत्यक्ष नेतृत्वमा भएको आक्रमणका क्रममा १७ जना प्रहरी, १४ जना सैनिक, करिब ९० जना माओवादी, १९ जना सर्वसाधारणको मृत्यु भएको थियो भने रु १७ करोड मूल्यबराबरको भौतिक सम्पत्तिको क्षति भएको थियो ।
स्थानीय शान्ति समितिको आयोजनामा ७ चैतमा बेनीमा शान्ति पदयात्रा र बेनी आक्रमणको समयमा खिचिएका तस्वीरहरुको प्रदर्शनी गरेर त्यस दिनको सम्झना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बेनी आक्रमणको समयमा दुवै खुट्टा गुमाएका कृष्णलाल श्रेष्ठले अझै पनि राहतलगायतका सुविधाबाट वञ्चित हुनुपरेकामा दुःखेसो गरे ।

राजनीतिक दल, सङ्घ संस्था, अधिकारकर्मी, पत्रकार, व्यवसायीहरु सम्मिलित शान्ति पदयात्राको टोलीले बेनी बजार परिक्रमा गरेको थियो ।

त्यतिबेला सदरमुकाम कब्जा गर्दै माओवादीले १ सय ५० थान हतियार लुटेको थियो भने तत्कालीन प्रमुख जिल्ला अधिकारी समरमणि पराजुली र प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर गौतम अपहणमा गरेका थिए। उनीहरूलाई केही दिनपछि आइसिआरसीको रोहबरमा रोल्पाबाट मुक्त गरिएको थियो।

राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययनमा माओवादीले बेनी आक्रमण गर्दा युद्ध अपराधको अन्तर्राष्ट्रिय नियमविपरीत नसालु पदार्थ सेवन गराएर कार्यकतालाई युद्धमा सामेल गराएको पाइएको छ ।

 

आयोगले करिब ५ वर्ष समय लगाएर गरेको अनुसन्धानअनुसार युद्ध मोर्चामा रहेका लडाकुलाई उत्तेजनामा आउने नसालु पदार्थ सुई (सिरिन्ज) मार्फत सेवन गराइएको थियो।

 

जेनेभा महासन्धिले युद्धका बेला सर्वसाधारणलाई निसाना बनाउन र कुनै पनि युद्धमा औषधि प्रयोग गर्न बर्जित गरेको छ ।

 

आज शान्ति पदयात्रापश्चात् आयोजित कार्यक्रममा सहभागीहरुले सबै नेपालीको भावनालाई समेट्ने संविधान निर्माण गरी देशलाई दिगो शान्ति, समृद्धि र विकासको पथमा अघि बढाई अब त्यस्तो दिन कहिल्यै फर्केर आउन नदिन नेताहरु सचेत बन्न आवश्यक रहेको विचार व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>