समाचारशनिबार, चैत्र ७, २०७१
कांग्रेसमा मनोनितको व्यवस्था हटाउनुपर्छ: एनपी साउद
नेपाली कांग्रेस व्यक्तिवादी पार्टीमा रुपान्तरण हुँदै गएको भन्दै कांग्रेसकै केन्द्रीय सदस्य एनपी साउदले चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस प्यूठानले ७ चैतमा बिजुवारमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै साउदले कांग्रेस पार्टीभित्र रहेको मनोनयनको प्रक्रिया केन्द्रदेखि गाउँतहसम्म नै हटाएर निर्वाचनको प्रक्रिया थालनी गर्नुपर्ने बताए ।
उनले पार्टी केन्द्रीय समितिदेखि भ्रातृ संगठनहरुमा समेत शतप्रतिशत चयन निर्वाचनबाट भएमात्रै लोकतान्त्रिक परिपाटीको विकास हुने सुझाव दिए ।
उनले भने, “सभापति निर्वाचन हुने तर उनले स्वेच्छाले समिति गठन गर्ने परिपाटीले पार्टीलाई व्यक्तिमुखि बनाएको छ ।”
कांग्रेसलाई समयसापेक्ष रुपान्तरणका लागि युवा नेताहरु एकजुट हुनुपर्ने भन्दै साउदले आगामी १३ औं महाधिवेशनबाट सबै तहमा शतप्रतिशत निर्वाचित प्रतिनिधिको थिति बसाल्नुपर्नेमा जोडदिए ।
सिंचाई मन्त्री समेत रहेका साउदले प्यूठानको झिमरुक नदीलाई नियन्त्रण गरी सिंचाईको व्यवस्था मिलाइने र माडी नदीबाट लिफ्ट सिंचाईको योजना सञ्चालन गर्न आफूले पहल गर्ने बताएका थिए ।
विजयसिंह भारती, प्यूठान
