समाचारआइतबार, चैत्र ८, २०७१
नेम्वाङलाई भट्टराईले भने, ‘चैत १३ सम्म सहमति नभए आन्दोलन शुरु हुन्छ’

फाइल तस्वीर
संविधान निर्माणमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र एमाओवादी नेता बाबुराम भट्टराईबीच कुराकानी भएको छ ।
भट्टराईले सभाध्यक्ष नेम्वाङसँग समय माग गरेलगत्तै नेम्वाङले आफू भेटवार्ताका लागि आतुर भएको भन्दै जानकारी गराएपछि भट्टराई र नेम्वाङबीच भेट भएको हो ।
करिब आधा घन्टा भएको भेटमा सभाध्यक्ष नेम्वाङले दलका नेताहरु संविधान निर्माणमा सकारात्मक देखिए पनि इच्छाशक्तिमा तदारुकता र परिणममुखी बन्न नसकेको आफूले पाएको बताएका थिए ।
उनले दलका केही शीर्ष नेतासँगको छलफलमा सरकार परिवर्तन गर्नुपर्ने आवाज पनि उठेको र सोको विषयमा आफूले संविधान निर्माण अघि र पछि सर्वसम्मतिकै सरकार गठन गर्न सकिने धारणा व्यक्त गर्दासमेत सहमति हुन नसकेको जानकारी दिए ।
सभाध्यक्षसँगको भेटलगत्तै पत्रकारसँग कुरा गर्दै भट्टराईले सहमतिको विकल्प नरहेको बताउँदै बहुमतीय प्रणलीमा संविधान निर्माण गर्न खोजे मुलुकमा अप्रिय घटना घट्न सक्ने चेतावनी दिए ।
उनले सभाध्यक्षलाई १३ चैतसम्म सहमतिको वातावरण बन्न नसके आफ्नो दलबाट घोषित आन्दोलनलाई चरणबद्ध रुपमा लैजाने जानकारी गराएको बताए ।
