समाचारमंगलबार, चैत्र १०, २०७१
कार्यविभाजनको प्रस्ताव पारित नहुने अवस्था आएपछि एमाले बैठक स्थगित
कार्यविभाजनको प्रस्तावमाथि थप छलफल गर्न भन्दै नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।
९ चैतमा महासचिव ईश्वर पोखरेलले पेश गरेको कार्यविभाजन प्रस्तावमा सहमति नजुटेपछि थप छलफल गर्न भन्दै ११ चैत विहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
पोखरेलको प्रस्ताव एक्लौटी रुप आएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले असहमति जनाएका थिए ।
नेपाल पक्षधरको असन्तुष्टि सार्वजनिक भएसँगै ओली पक्षकै नेताहरुले पनि समर्थन नगर्ने अवस्था आएपछि बैठक स्थगित गरिएको एमालेका एक नेता बताए । उनका अनुसार बिना मापदण्ड प्रस्ताव गरिएको कार्यविभाजनमा अधिकांश नेताहरु असन्तुष्ट बनेका छन् ।
ती नेताले भने, “अध्यक्षले अाफ्ना पक्षधरका पनि अाफु वरिपरी घुम्नेलाई मात्रै राम्राे जिम्मेवारीकाे प्रस्ताव गरेपछि असहमत हुनु ठूलाे विषय हाेइन ।”
महाधिवेशन सकिएको नौ महीना वितिसक्दा पनि एमालेमा अझै कार्यविभाजन हुन सकेको छैन । पार्टी अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल पक्षधरबीच कुरा मिल्न नसकेपछि कार्यविभाजन हुन सकेको छैन ।
