समाचारबिहीबार, चैत्र १२, २०७१
राष्ट्रपति यादव चीन प्रस्थान
राष्ट्रपति रामवरण यादव ‘एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका छन् ।
चीनमा सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका राष्ट्रपति यादवलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीद्वय, मन्त्रिगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्च पदाधिकारी, नेपालका लागि विभिन्न मुलुकका राजदूतलगायतले बिदाइ गरेका थिए ।
राष्ट्रपति यादवको बिदाइ समारोहमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही १२ देखि १५ चैतसम्म आयोजना हुने सम्मेलनमा राष्ट्रपति यादवले १४ चैत बिहान सम्बोधन गर्ने कार्यक्रम छ ।
सोही दिन अपराह्न आफ्ना चिनियाँ समकक्षी राष्ट्रपति सि जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साताव्यापी चीन भ्रमणक्रममा आजै साँझ राष्ट्रपति डा यादव नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको सान्या सहर पुग्नेछ ।
एकदिने सान्या बसाइका क्रममा राष्ट्रपतिले आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नाका साथै नान्सा रमणीय उद्यानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रालयका अनुसार १३ चैतमा राष्ट्रपति यादवले उक्त उद्यानमा नेपाल चीन सांस्कृतिक केन्द्रमा नेपालमण्डपको उद्घाटन गर्नेछन् । १४ चैत शनिबार बिहान उनी सम्मेलनस्थल बोआओतर्फ प्रस्थान गर्नेछन् । सोही दिन सम्मेलनलाईसम्बोधन गरी चिनियाँ राष्ट्रपति सिले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् ।
१४ चैत अपराह्न राष्ट्रपति यादव र अस्ट्रियाका राष्ट्रपति हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तापछि राष्ट्रपति डा यादव नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको अर्को सहर हाइकुतर्फ प्रस्थान गर्नेछ । १५ चैत बिहान उक्त सहरबाट नेपाली प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासातर्फ प्रस्थान गर्नेछ । ६ चैत र १७ ल्हासा तथा सिगात्सेका विभिन्न स्थलको भ्रमण पूरा गरी बुधबार बिहान उक्त प्रतिनिधिमण्डल स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
राष्ट्रपति नेतृत्वको १८ सदस्यीय प्रतिनिधिमण्डलमा राष्ट्रपतिकी सुपुत्री अनिता, सहरी विकासमन्त्री डा नारायण खड्का, राष्ट्रपतिका सल्लाहकारद्वय सूर्यप्रसाद ढुङ्गेल र हरि शर्मा, राष्ट्रपतिको कार्यालयका सचिव अनुपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत महेशकुमार मास्के, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी र सहसचिव झवीन्द्र अर्याल, राष्ट्रपतिका स्वकीय सचिव ललितबहादुर बस्नेत, स्वकीय चिकित्सिक डा यादवकुमारदेव भट्ट, शिष्टाचार महापाल अर्जुनकान्त मैनालीलगायत छन् ।
