समाचारबिहीबार, चैत्र १२, २०७१
दुई माअाेवादी एकीकरण गर्न समिति गठन
मोहन वैद्यले नेतृत्वको नेकपा–माओवादी र नेकपा एकीकृतबीच पार्टी एकताका लागि संयोजन समिति गठन गरिएको छ ।
१२ चैतमा बसेको दुई पार्टीका शीर्ष नेताहरुको बैठकले एकताको प्रक्रिया अगाडि बढाउन र आवश्यक तयारी गर्न आठ सदस्यीय ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको माओवादी अध्यक्ष मोहन वैद्य र एकीकृतका नेता परि थापाद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
संयोजन समितिमा माओवादीको तर्फबाट अध्यक्ष वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ तथा एकीकृतको तर्फबाट परि थापा रामसिंह श्रीस, सीताराम तामाङ र केबी गुरुङ रहेका छन् ।
विगत लामो समयदेखि पार्टी एकता गर्ने उद्देश्यका साथ दुई पक्षबीच वार्ता हुँदै आउने क्रममा माक्र्सवाद, लेनिनवाद र माओवाद, नयाँ जनवाद, जनविद्रोह, जनवादी केन्द्रीयता र तत्कालीक कार्यनीतिलगायतका विषयमा समान धारणा बनेको विज्ञिप्तमा उल्लेख छ ।
समितिले सहमत हुन बाँकी रहेका विषयमा समान धारणा निर्माण गर्न प्रयत्न गर्ने, पार्टीको साझा सैद्धान्तिक राजनीति प्रस्ताव तयार गर्ने र पार्टी एकताको लागि आवश्यक सङ्गठनात्मक एकीकरणको तयारी गर्नेछ ।
