समाचारशनिबार, चैत्र १४, २०७१
एमाले नेताहरुले डा.केसीलाई भने, ‘तपाईको मागप्रति बिमती छैन’
नेकपा एमालेका नेताहरुले डा. गोविन्द केसीलाई वार्तामा बस्न आग्रह गरेका छन् ।
निजी मेडिकल कलेजलाई दिन लागिएको सम्बन्धनको विरोधमा अनशन बसिरहेका डा.केसीलाई भेटेर एमाले नेताहरुले भने, ‘‘हामी तपाईको मागप्रति सैद्धान्तिक रुपमा सहमत छौं, तपाईले जसरी एमालेप्रति धारणा बनाइरहनुभएको छ । त्यसलाई बदल्नुहोस् ।’’
केसीलाई भेट्न एमाले उपमहासचिव घनश्याम भूसाल, सचिव योगेश भट्टराई, केन्द्रीय सदस्यहरु ठाकुर गैरे, विजय पौडेललगातय शिक्षण अस्पताल पुगेका थिए । उनीहरुले डा.केसीले राखेको १० बुँदे मागप्रति बिमति नरहेको बताए ।
भट्टराईले भने, ‘‘कुनै पार्टीले नीति बनाउने होइन, त्यो सरकारको कुरा हो । डा. केसीको माग हामीले पनि उठाउँदै आएका हौं ।’’ मापदण्ड बनाएर मात्रै सम्बन्धन दिनुपर्ने केसीको माग एमालेले उठाउँदै आएको पनि डा.केसीलाई उनीहरुले बताएका थिए ।
