समाचारआइतबार, चैत्र १५, २०७१
प्रधानमन्त्री र गच्छदार भेटः मिलेर जानुको विकल्प छैन
प्रधानमन्त्री सुशील कोइराला र मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भेटवार्ता गरेका छन् ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपाली जनताले लोकतान्त्रिक शासन पद्धतिका लागि गरेको साढे सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संस्थागत गर्ने अवसर गुमाउन नहुने बताएका थिए ।
उनले नेपाली दोस्रो संविधानसभाको चुनावमार्फत लोकतान्त्रिक संविधान निर्माणका लागि दिइएको जनादेशलाई बिर्सेर आन्दोलन र सङ्घर्षमा गए आजसम्मका उपलब्धि गुम्ने जोखिम पनि औँल्याए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले पनि दलहरु मिलेर जानाको विकल्प नरहेको बताए। सभाध्यक्ष सुवास नेम्वाङले सहमति वा प्रक्रियामा अघि बढ्ने विषयमा प्रमुख दलका नेतालाई सहमतिमा पुग्न आजसम्मको समयसीमा दिएपछि सत्तारुढ र विपक्षी मोर्चाबीच बाक्लो भेटवार्ता हुन थालेकाे छ ।
