समाचारसोमबार, चैत्र १६, २०७१

एमाअाेवादी माेर्चाद्वारा १९ चैतकाे बन्द फिर्ता, संविधानसभाकाे बैठक बहिष्कार गर्ने

हिमालखबर

एमाअाेवादी नेतृत्वको तीस दलीय मोर्चाले १९ चैतमा अाह्वान गरेकाे बन्दलगायत कार्यक्रम स्थगन गरेको छ ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको बैठकले बन्द स्थगन गरी २१ चैतमा मुलुकभर विशेष अन्तर्क्रिय गर्ने कार्यक्रम तय गरेको छ । २४ देखि २६ चैतसम्मको अामहडताल सफल बनाउन केन्द्रित हुने भन्दै मोर्चाले त्यसअघिका आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलले वार्तालाई कूटनीतिक तवरले मात्रै प्रयोग गरेकाले आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरिएको बताए ।

‘पछिल्लो एक महिनामा सहमतिका आधारमा संविधान जारी गर्नका लागि मोर्चाका तर्फबाट विशेष पहल भए पनि सत्तारुढ दलले त्यसलाई कमजोरीका रुपमा मात्रै लिएको र केवल वार्ताका नाममा वार्ता मात्रै गर्ने र समस्याको समाधानका लागि कुनै पनि प्रयत्न नगरेकाले’ आफूहरु बाध्य भएर आन्दोलनमा केन्द्रित हुनुपरेको दाहालले बताए ।

‘‘विगतका सहमति तथा सम्झौतालाई सुन्नै नचाहने प्रवृत्ति देखियो, बहुमतका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउने मनसाय पनि उहाँहरुमा छ, वार्तामा जिम्मेवारीबोधको अभाव देखियो, झुलाउने र थकाउने रणनीति देखियो, अब आन्दोलनमा प्रतिबद्ध हुनुको विकल्प रहेन’’ दाहालले भने ।

‘संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले मोर्चाका नेतासँग कुनै छलफल नगरी संविधानसभाको बैठक बोलाएकाले’ बैठकमा सहभागी नहुने निर्णयसमेत मोर्चाले गरेको छ ।

‘‘हामीसँग एक पटक पनि सोधनी भएन, उहाँहरुमा अझै पनि बहुमतीय दम्भ र अहङ्कार छ, सहमति बेगर बोलाइएको बैठकमा हामी सहभागी हुँदैनौ’’ दाहालले भने । एमाअाेवादीले २३ चैतमा बाेलाइएकाे संविधानसभा बैठक भने बहिष्कार गर्ने निर्णय गरेकाे छ ।

केसीको माग सम्बोधन गर

मोर्चाको बैठकले नौ दिनदेखि आमरण अनशनमा रहेका प्रा डा गोविन्द केसीको चिकित्सा क्षेत्रको सुधारको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयमा राज्यको लगानी हुनुपर्छ भन्ने मान्यता विपरीत पूर्वाधार नभएका मेडिकल कलेजलाई सम्बन्धन दिने विषय मानवीय स्वास्थ्यमाथिको खेलबाड हुने भएकाले प्रा डा केसीको माग जायज भएको र उनको आन्दोलनमा मोर्चाको ऐक्यबद्धता रहेको अध्यक्ष दाहालले बताए ।

आज बिहानै मात्र आफूले प्रधानमन्त्रीलाई टेलिफोन गरी प्रा डा केसीको माग तत्काल सम्बोधन गर्न आग्रह गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>