समाचारसोमबार, चैत्र १६, २०७१
जोगीमारा दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो
पृथ्वीराजमार्गअन्तर्गत जोगीमारा गाविस–९ स्थित खटौतीखोला नजिकै १६ चैत बिहान दुई सवारी साधन एकापसमा ठोकिएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
प्रहरी नायब उपरीक्षक प्रकाश मल्लका अनुसार मृत्यु हुनेमा कोरियाली च्याङबोखी, नो योन डेयुक, जा योङ चो र ली सोङ योङ तथा माइक्रोबसका चालक काठमाडौँ गोलढुङ्गा – ९ बस्ने २३ वर्षीय रोशन भुसाल छन् ।
चार जनाको घटनास्थलमा र योङको उपचारका क्रममा मेघा अस्पतालमा मृत्यु भएको हो । घाइते भएका एक विदेशी र ६ जनाको काठमाडौँमा र बाँकी १० जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९५९३ नंको यात्रुवाहक बस र पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बा १ प १०२८ नंको पर्यटकीय माइक्रोबस ठोकिँदा दुर्घटना भएको थियो ।
घुम्ती सडकमा माइक्रोबसले उछिन्न लाग्दा दुर्घटना भएको मल्लको भनाइ छ ।
सामान्यतया पर्यटक गाडी कम दुर्घटना हुने गरेकामा चालकको चरम लापर्बाहीले सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयवासी, राजमार्ग स्वयंसेवक, प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए ।
