समाचारबुधबार, चैत्र १८, २०७१
स्थानीय निकायको निर्वाचन गरः प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय निकायको निर्वाचन छिटो हुनुपर्ने बताएका छन् ।
‘निर्वाचन र सञ्चार’ विषयको अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त उप्रेतीले लोकतन्त्रको जग स्थानीय निकायको निर्वाचन भएको बताए । “स्थानीय निकायको निर्वाचन छिटो हुनुपर्छ, गाउँ तहबाटै निर्वाचन गराउँदा लोकतन्त्र फस्टाउँछ, दिगो हुन्छ,” आयुक्त उप्रेतीले भने ।
उनले लोकतान्त्रिक विधि र प्रक्रियामार्फत् नागरिकलाई अधिकारसम्पन्न बनाउन स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताए । आयुक्त उप्रेतीले आवधिक निर्वाचन नियमित हुनुपर्नेमा पनि जोड दिए। वषौंदेखि स्थानीय निकाय निर्वाचन हुन नसकेकाप्रति असन्तुष्टि व्यत्तल गर्दै उनले दुई/दुई पटक संविधानसभाको निर्वाचन आवश्यक नरहेको टिप्पणी गरे ।
“संविधानसभाको दुई पटकसम्म निर्वाचन भयो, अझै उपनिर्वाचन हुँदैछ, यो बाध्यता हो,” आयुक्त उप्रेतीले भने, “स्थानीय निकायको निर्वाचन हुन सकेको छैन, हामी लोकतान्त्रिक प्रक्रियामा जान धर्मराएका छौं ।”
