समाचारबुधबार, चैत्र १८, २०७१
धुम्बाराही हत्याः यौन असन्तुष्टिको परिणाम !

पृतम मानन्धर
१८ चैत विहान काठमाडौंको धुम्बाराहीमा भएको एक महिलाको मृत्यु यौन असन्तुष्टिले निम्त्याएको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
मृतक महिला भारतको दार्जीलिङकी ज्योत्सना तामाङलाई उनका प्रेमी काठमाडौंका पृतम मानन्धरले शौचालयको झ्यालबाट धकेल्दा खसेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।
प्रहरीका अनुसार धुम्बाराहीको प्रगती टोलस्थित ज्योत्सनाको डेरामा १७ चैत राति रक्सी खाएर एउटै कोठामा सुतेका पृतम र ज्योत्सनाबीच झगडा हुँदा पृतमले ज्योत्सनलाई शौचालयको झ्यालबाट हुत्याइदिएपछि उनी तीन तलामाथि बाट सडकमा खसेर मृत्यु भएको थियो ।
१७ चैत राति १२ः१५ बजेसम्म ज्योत्सनाकी साथी पवित्रा लिम्बुसँगै रक्सी खाएका उनीहरु एउटै कोठामा सुतेका थिए भने पवित्रा भने अर्को कोठामा सुत्न गएकी थिइन् ।
अत्यधिक मदिरा सेवन गरेकी ज्योत्सनले करिब १२ः३० बजे पृतमलाई शौचालयमा बोलाई ‘मेरो चाहना किन पुरा गर्दैनस्, तेरो अरु को केटीसँग सम्बन्ध छ ?’ भन्दै झगडा गरेको र दुबै बीच धकेलाधकेल भएको पृतमले प्रहरीलाई बयान दिएका छन् । धकेलाधेकलकै क्रममा पृतमले ज्योत्सनाको हात समातेर शौचालयको झ्याल बाहिर हुत्ताएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।
प्रहरीका अनुसार ज्योत्सना सडकमा खसेपछि रक्सीले मातेका पृतम भने फेरि कोठामा गएर सुतेका थिए । बिहान स्थानीयले सडकमा शव देखेपछि सूचना पाएको प्रहरी आएर उक्त घरबाट पृतम र ज्योत्सनाकी साथी पवित्रा लिम्बुलाई नियन्त्रणमा लिएको थियो । लिम्बुले आफू राति पृतम र ज्योत्सनासँगै बसेर रक्सी खाए पनि बेग्लै कोठामा गएर सुतेको, विहान करिब ५ बजे उठेर ज्योत्सनाको कोठामा जाँदा उनलाई नदेखेको र सोध्दा पृतमले ‘खै कता गयो’ भनेको बयान दिएकी छन् ।
काठमाडौंको भाटभटेनीमा कुर्तासलवारको पसल गर्ने ज्योत्सनालाई उनकी विजनेस पार्टनर रञ्जु थापाले दुई महिनाअगाडि पृतमसँग चिनाजान गराएकी थिइन् । पहिलो भेटपछि बढदै गएको उनीहरुको सम्बन्ध हप्तामा एकपटक सँगै खानपिन गर्नेेसम्म पुगेको प्रहरीले जनाएको छ ।
काठमाडौं मैतिदेवी स्थायी ठेगाना भएका ३८ वर्षीय पृतमको भाटभटेनीमा ‘एटिक’ रेष्टुरेन्ट सञ्चालनमा छ । प्रहरीका अनुसार पृतम अविवाहित हुन् भने पति विदेशमा रहेका ज्योत्सनाकी एक कक्षामा पढ्ने एक छोरी समेत छन् ।
अहिले ज्योत्सनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमका लागि पठाइएको र भारतको दार्जीलिङमा रहेका उनका आफन्तलाई खबर गरिएको महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी निरीक्षक कृष्ण चन्दले जानकारी दिए । उनले घटनाको अनुसन्धान भइरहेको बताए ।
