समाचारबिहीबार, चैत्र १९, २०७१
राजविराजः किशोरीमाथि सामूहिक बलात्कार
सप्तरीमा एक किशोरीको सामूहिक बलात्कार भएको छ ।
भर्खरै एसएलसी परीक्षा दिएकी किशोरीलाई भिडियो हेर्न भन्दै स्थानीय युवक शम्भू साहले राजविराज–५ स्थित एक घरको कोठामा लगी ७ जनाले बलात्कार गरेको पीडितका परिवारले जनाएका छन् ।
१३ चैतमा भएको उक्त घट्ना १९ चैतमा किशोरीका आफन्तले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । अहिले पीडितको अस्पतालमा उपचार भइरहेको छ ।
‘तिमीले लभ गरेको युवकले तिम्रो सेक्स भिडियो बनाएको छ’ भन्दै साहले भिडियो हेर्न बोलाएर सामूहिक बलात्कार गरेको किशोरीका परिवारको दाबी छ ।
पीडितका दाईले दिएको जानकारी अनुसार किशोरीको १३ चैत दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म बलात्कार भएको थियो ।
“बहिनी घर नआएपछि खोजी गर्दै जाँदा घट्नाबारे थाहा पाएँ” उनले भने, “ढिलो गरी भेट भएकी बहिनीलाई केरकार गर्दा मात्रै उनले घटनाबारे बताइन् ।” उनका अनुसार बलात्कार गर्नेहरुले दुष्कर्मको भीडियो समेत रेकर्ड गरेका छन् ।
एक वर्षअघि पनि बलात्कार
पीडितका दाजुका अनुसार एक वर्षअघि मात्रै सप्तरीकै लोहजारा गाविसका एक युवाको प्रलोभनमा परी बलात्कृत भएकी बहिनीलाई निकै प्रयासपछि त्यो आघातबाट बाहिर निकालिएको थियो । अहिले उनकै साथी शम्भुले ‘त्यो केटाले तिम्रो भिडियो बनाएको छ’ भन्दै ‘ब्लयाक्मेल’ गरेर सामूहिक बलात्कार गरेका हुन् ।
एक वर्षअघिको घटनामा लोकलज्जाका कारणले सामाजिकस्तरमै मिलाइएको पनि पीडितको परिवारले स्वीकारेको छ ।
घटनालगत्तै शम्भु र अन्य स्थानीय नेताहरु समेतले घटना बाहिर नल्याउन धम्की दिएका कारण तत्काल घट्ना सार्वजनिक गर्न नसकेको उनले बताए । उनले बिभिन्न पक्षको धम्कीका कारण अहिले पनि बहिनीलाई न्याय दिलाउने अभियानमा लागेका व्यक्तिहरु त्रसित रहेको बताए ।
आफ्नो ज्यान समेत जोखिममा रहेको बताउने उनले भने, ‘डरकै कारण बहिनीको उपचारसमेत गोप्य तरिकाले गराउनु परेको छ, जाहेरी दर्ता नगराउन ठूलो दबाव छ ।”
पत्रकार सम्मेलनमा उपस्थित पीडितका छिमेकी रोशन यादवले पीडितको पक्षमा बोल्दा आफूसहित पाँच जनाको ज्यान जोखिममा परेको दाबी गरे । उनले पीडकलाई कार्वाही गराउन चुनौति देखिएको भन्दै न्यायका लागि सबैसँग अपिल गरेका छन् ।
अश्लिल भिडियो देखाउन भन्दै बोलाएका शम्भुसहित राजविराजका कमल साह, नवीन दत्त, नर्घाेका दिपेश यादव, सुनसरीका दिपक यादव, राजविराजका जितेन्द्र खंग, मलेठका फुदिन मियाँले बलात्कार गरेको किशोरको भनाई उद्धृत गर्दै उनका दाजुले बताए ।
प्रहरीले जाहेरी लिएन
“घट्ना भएको छ,” राजविराजका डीएसपी नारायण प्रसाद चिमरीयाले भने, “बालिकाको मेडिकल जाँच पनि भइसकेको छ, ।” यद्यपी पीडित पक्षले जाहेरी नदिएको उनले बताए ।
उनले जाहेरीका लागि प्रहरीले ताकेता गर्दा पनि किशोरीका परिवारबाट जाहेरी नदिइएको दाबी गरे । किशोरीको उपचार भइरहेको र जाहेरी आउनासाथ थप प्रक्रिया अघि बढ्ने डीएसपी चिमरियाले बताए पनि किशोरीका दाजु भने १८ चैतमा आफूले जाहेरी दिन जाँदा डीएसपी चिमरियाले दर्ता गर्न नमानेको बताउँछन् ।
पीडित पक्षका रोशन यादवले डिएसपीले घट्नामा ७ जना नभई ४ जनाको मात्रै संलग्नता रहेको भन्दै केही नाम हटाएर जाहेरी दिन दबाब दिएका छन् ।
किन जाहेरी नलिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा डिएसपी चिमरीयाले भने, “घट्नामा सबैको संलग्नता नभएका कारण वास्तविक दोषीहरुको नाम मात्र उल्लेख गरेर ल्याउन भनेको छु । उहाँहरुले नै ल्याउनुभएको छैन् ।”
उनले प्रहरीको अनुसन्धान र बालिकाको बयानले पनि ४ जनाको मात्रै संलग्नता देखिएकाले उनीहरुको नाम मात्र उल्लेख गरेर जाहेरी दिनुपर्ने बताए ।
पीडित पक्षले भने सातै जना घटनामा संलग्न रहेको र सबैलाई कार्वाहीको माग गरेको छ । प्रहरीले दीपेश यादव, दीपक यादव, कमल साह र जितेन्द्र खंगको नाम हटाए मात्र जाहेरी दर्ता गर्ने भनेको पीडित किशोरीका छिमेकीले जानकारी दिए । ती छिमेकीका अनुसार राजनीतिक दलका स्थानीय नेताको दबाबमा प्रहरीले जाहेरी लिन नमानेको हो ।
पीडित पक्षले घटनामा संलग्न जितेन्द्र खंग र दिपक यादवलाई प्रहरीले पक्राउ गरेको दाबी गरे पनि डिएसपी चिमरीयाले यस बारेमा अनभिज्ञता प्रकट गरेका छन् । उनले यो घटनासँग सम्बन्धित कुनै पनि व्यक्तिलाई हालसम्म पक्राउ नगरिएको बताए ।
श्रवणकुमार देव, राजविराज
