समाचारशुक्रबार, चैत्र २०, २०७१
प्रधानमन्त्री काेइराला र भारतीय विदेश सचिवबीच भेटबार्ता
प्रधानमन्त्री सुशील कोइराला र भारतका विदेश सचिव सुब्रमन्यम् जयशङ्करबीच भेटबार्ता भएकाे छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा २० चैत दिउँसाे शिष्टाचार भेट भएकाे हाे । भेटमा आपसी हित र चासोबारे छलफल भएकाे प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार दिनेश भट्टराईले बताए ।
प्रधानमन्त्री र सचिव सुब्रमन्यम्बीच प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला छलफल भएको बदलिँदो परिस्थितिमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई सुदृढ तुल्याउने तथा यसलाई अझ नयाँ दिशा दिने बारे छलफल भएकाे छ ।
“द्विपक्षीय सम्झौताअनुसार कार्यान्वयन गर्न सहमति भएका परियोजनालाई द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिँदै ती परियोजनामा सुरक्षाको पूर्ण प्रत्याभूति गराउन नेपाल सरकार दृढ रहेको बताउनुभयोे”, प्रधानमन्त्री कोइरालाको भनाइ उद्धृत गर्दै सल्लाहकार भट्टराईले बताए ।
