समाचारशुक्रबार, चैत्र २०, २०७१
सहमतिमा संविधान बनाेस्ः भारतीय विदेश सचिव
भारतीय विदेश सचिव जयशङ्करले संविधान निर्माणमा भइरहेको ढिलाइप्रति चासो देखाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीसँगकाे भेटमा उनले संविधान बनाउन नेपालका राजनीतिक दल आफैँ सक्षम भएको बताए । उनले भने, “सहमतिका आधारमा संविधान जारी होस् भन्ने पक्षमा छिमेकीको नाताले भारत छ ।”
भारतीय विदेश सचिवले नेपालमा जतिसक्दो चाँडो संविधान जारी गरेर आर्थिक समृद्धिको बाटामा नेपाल लागोस् भन्ने भारत सरकारको चाहना रहेको बताए ।
ओली निवास बालकोटमा करिब पौने एक घन्टा भेटवार्ता भएको थियो ।
अब नेपालले छिट्टै संविधान पाउने छ
अध्यक्ष ओलीले सकेसम्म दलहरुबीच सहमति जुटाएर संविधान निर्माण गर्न जोड दिइएको र सहमति जुटाउन दलहरु छलफलमा व्यस्त रहेको बताए ।
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव सुब्रमन्यम् जयशङ्करले व्यक्त गरेको चासोमा नेता ओलीले छिट्टै सहमति जुट्नेमा आफू विश्वस्त रहेको जानकारी गराउँदै तत्काल सबै विषयमा सहमति नजुटे सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्ने पक्षमा आफूहरु रहेको धारणा राखेको एमाले सचेत अग्नि खरेलले बताए ।
