समाचारशुक्रबार, चैत्र २०, २०७१

पर्यटन बाेर्डः कसलाई कति भ्रष्टाचारकाे अभियाेग ?

हिमालखबर

नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार गरेकाे उजुरीका अाधारमा अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले बाेर्डका कर्मचारी विरद्ध विषेश अदालतमा मुद्दा दायर गरेकाे छ ।

उजुरीमा कार्यक्रमनै नगरी बील मात्र राखी रकम हिनामिना गरेको,  सामान खरिद नै नगरी बील मात्र संलग्न गरी भुक्तानी गरेको, सवारी साधन भाडामा लिएको भनी बील संलग्न गराएकाे, मदिरा खरिद गरेको बील संलग्न गरी हिनामिना गरेकोलगायत उल्लेख छ।

यस्तै, अन्तर्राष्ट्रिय मेलाको नाममा रकम भुक्तानी गरी हिनामिना गरेको, व्यक्तिगत कार्यमा खर्च भएको विल भरपाई पेश गरी भुक्तानी दिई हिनामिना गरेको, बैंक खाताबाट रकम निकाली हिनामिना गरेको, नक्कली हवाई टिकट पेश गरी रकम हिनामिना गरेको, कार्यालय सहायक तथा कर्मचारीहरुको नाममा चेक काटी भुक्तानी लिई हिनामिना गरेको र नेपाल पर्यटन बोर्ड आर्थिक विनियमावली, २०७० लाई संशोधन तथा स्वीकृत गरी बढी भुक्तानी गराई तथा बोर्डमा भएको अनियमित खर्च अनुमोदन गरी हिनामिना गरेको जनाइएकाे छ ।

२० चैतमा दायर गरिएकाे मुद्दाकाे पूर्ण विवरणः–

प्रेस विज्ञप्ति:२०७१-१२-२० गते।
———————————
आरोपपत्र दायर गरिएको
————————–
विषयः- नेपाल पर्यटन बोर्डमा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा ।
—————————————————————————–

नेपाल पर्यटन बोर्डमा आर्थिक हिनामिना भएको, रकमको दुरुपयोग भएको, व्यापक आर्थिक अनियमितता भएको, सार्वजनिक खरिद ऐन र नियमावली विपरित भत्ता दिने काम भएको, सामान खरिद नगरी रकम दुरुपयोग गरिएको, सवारी साधन भाडामा लिएको, नक्कली बिल पेश गरी अनियमितता गरेको, मदिरा खरिद गरेको बिल पेश गरी रकम हिनामिना गरेको, अन्तर्राष्ट्रिय मेलाको नाममा समेत रकम हिनामिना गरेको, व्यक्तिगत कार्यको खर्च समावेश गरिएको लगायत विविध शीर्षकमा रकमको दुरुपयोग गरी भ्रष्टाचार गरेको भनी आयोगमा विगत १० महिना अघिदेखि पटक-पटक पर्न आएका उजुरी सम्बन्धमा आयोगले विस्तृत छानबिन एवं अनुसन्धान गरी सो विषयका सम्बन्धमा विभिन्न पदाधिकारीहरुको संलग्नतामा नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारजन्य कसुर भएको देखिएकाले आयोगको मिति २०७१।१२।१८ को बैठकको निर्णय अनुसार उक्त कार्यमा संलग्न देखिएका नेपाल पर्यटन बोर्ड एवं अन्य सम्बद्धहरु २३ जना पदाधिकारी तथा कर्मचारीहरु विरुद्ध आयोगद्वारा आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

सो सन्दर्भमा सम्बद्ध पदाधिकारी एवं कर्मचारीहरुबाट बोर्डको रु.३४ करोड ६९ लाख १८ हजार ३ सय ६१ विगो हिनामिना गरेको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार प्रत्येक आरोपित व्यक्ति उपर भिन्नाभिन्नैगरी रु.८१ करोड ४ लाख २१ हजार ८९३ रुपैयाँ कूल बिगो एवं जरिवाना आयोगबाट मागदावी लिएइको अवस्था छ।

यस सम्बन्धमा नेपाल पर्यटन वोर्डका सम्वन्धमा अनुसन्धान गर्ने क्रममा नेपाल पर्यटन बोर्डसँग पत्राचार गरी प्राप्त भएका श्रेस्ता तथा कागजातहरु, कार्यकारी समितिका निर्णय पुस्तिकाहरु, श्रेस्ता कागजातहरु, पत्र तथा विवरणहरु, नेपाल पर्यटन बोर्डका का.मु. कार्यकारी प्रमुख लगायतका कर्मचारीहरु एवं पदाधिकारीहरुको वयान तथा अनुसन्धानको क्रममा बुझिएका मानिसहरुले लेखाई दिएको वयान कागज समेतका आधार प्रमाणहरुलाई समष्टिगत रुपमा अध्ययन विश्लेमषण गर्दा नेपाल पर्यटन बोर्डमा विषयगत शीर्षक अनुसार बिगो बमोजिम भ्रष्टाचारजन्य कार्य भएको देखिन आएको छ ।

१. कार्यक्रमनै नगरी विल मात्र राखी रकम हिनामिना गरेको।
—————————————————————–
नेपाल पर्यटन बोर्डमा आ.व. २०६८/०६९ देखि २०७०/०७१ सम्म विभिन्न कार्यक्रम वापत भनी विभिन्न मितिमा भए गरिएका भुक्तानी हेर्दा कुनै पनि कार्यको लागत अनुमान नै तयार नगरिएको, त्यस्तो कार्य गर्न कार्यादेश नै नभएको, प्रचलित आर्थिक विनियमावली तथा सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिमको प्रक्रिया नअपनाईएको र कार्य सम्पन्न प्रतिवेदन नभएबाट वदनियतपूर्बक कार्यक्रमै नगरी भौचरसाथ विल मात्र संलग्न गरी विभिन्न कार्यक्रम वापत रकम भुक्तानी गरेको देखाई हिनामिना गरेको देखिन्छ।

२. सामान खरिद नै नगरी विल मात्र संलग्न गरी भुक्तानी गरेको भनी हिनामिना गरेको।
————————————————————————-
नेपाल पर्यटन बोर्डले विभिन्न मालसामान खरिद गरेको भनी आ.व. २०६८/०६९ देखि आ.व. २०७०/०७१ सम्ममा खरिद गरेको मालसामान मध्ये तालिकामा उल्लेखित भौचरहरुबाट खरिद गरिएको भनिएका मालसामानहरु स्टोर दाखिला (जिन्सीमा आम्दानी) बाँधेको देखिंदैन।

३. सवारी साधन भाडामा लिएको भनि विल मात्र संलग्न गरी हिनामिना गरेको।
———————————————————————————–
नेपाल पर्यटन बोर्डमा आ.व. २०६८/०६९ देखि २०७०।०७१ सम्म विभिन्न मितिमा कार, जीप, बस लगायतका सवारी साधनहरु भाडा तथा रिजर्भमा लिएको जनाई भुक्तानी खर्च लेखेको देखिन्छ। बोर्डको आफ्नै सवारी साधन हुदाँहुदै अतिरिक्त सवारी साधन भाडामा लिनु पर्नाको कारण नखुलेको, नियमानुसारको खरिद प्रक्रिया अपनाई संझौता गरेर मात्र भाडामा लिनु पर्नेमा सो बमोजिम भए गरेको नदेखिएको।

४. मदिरा खरिद गरेको विल संलग्न गरी हिनामिना गरेको।
—————————————————————–
नेपाल पर्यटन बोर्डमा मदिरा खरिद तथा उपभोग भनी आ.व. २०६९।०७० देखि २०७०।०७१ सम्म पटक-पटक गरी लाखौं रुपैया खर्च लेखेको देखियो। यस तर्फको भुक्तानी भौचर हेर्दा मादक पदार्थ खरिद गर्नु पर्ने कारण तथा आधार नखुलेको, मदिरा के-कुन कारण वा प्रयोजनको लागि खरिद गरिएको हो भन्ने नखुलेको, मदिरा खरिद गर्ने भनि कुनै निर्णय भएको समेत देखिन आउदैन।

५. अन्तर्राष्ट्रिय मेलाको नाममा रकम भुक्तानी गरी हिनामिना गरेको ।
‍————————————————————————–
नेपाल पर्यटन बोर्डबाट विदेशमा भएका अन्तर्राष्ट्रिय मेलाहरुमा भाग लिएको भनी आ.व. २०६९/७० र २०७०/०७१ मा पटक-पटक रकम भुक्तानी गरेको देखियो। भुक्तानी भौचर हेर्दा कुनैमा मेला भएको भन्ने पुष्टि हुने कागजात संलग्न रहेको देखिदैन।

६. व्यक्तिगत कार्यमा खर्च भएको विल भरपाई पेश गरी भुक्तानी दिई हिनामिना गरेको ।
—————————————————————————-
नेपाल पर्यटन बोर्डले खर्च गर्दा बोर्डको उद्देश्य अनुरुप पर्यटन प्रवर्द्धनसँग सम्बन्धित कामको लागि मात्र खर्च गर्नु पर्नेमा आ.व. २०६८/०६९ देखि २०७०/०७१ सम्म भएको खर्च हेर्दा कतिपय खर्चहरु नक्कली कागजात खडा गरी खर्च भुक्तानी गरेको समेत देखिन्छ।

७. बैंक खाताबाट रकम निकाली हिनामिना गरेको ।
———————————————————-
नेपाल पर्यटन बोर्डमा भएको खर्चको ट्याली (सफ्टवेयर) बाट आ.व. २०६९।७० र २०७०/०७१ सम्ममा विभिन्न मितिमा विभिन्न नाउंमा ठूलो रकम भुक्तानी भएको देखिन्छ। कतिपय खर्चका भुक्तानी भौचर (PV) भए पनि सो भुक्तानी भौचर अनुसार खर्च पुष्ट्याई हुने खरिद तथा जनरल भौचर देखिएन।

८. नक्क ली हवाई टिकट पेश गरी रकम हिनामिना गरेको।
—————————————————————-
नेपाल पर्यटन बोर्डले आर्थिक बर्ष २०६८/०६९ देखि २०७०/०७१ सम्ममा विभिन्न एयर लाइन्सका आन्तरिक हवाई नक्क२ली टिकटहरु वापत पटक-पटक भुक्तानी लिएको देखिन्छ।

९. कार्यालय सहायक तथा कर्मचारीहरुको नाममा चेक काटी भुक्तानी लिई हिनामिना गरेको।
———————————————————————————
नेपाल पर्यटन बोर्डबाट जागिर छाडेका विभिन्न व्यक्तिका नाउँमा चेकबाट रकम भुक्तानी लिएको देखियो।

१०. नेपाल पर्यटन बोर्ड आर्थिक विनियमावली, २०७० लाई संशोधन तथा स्वीकृत गरी बढी भुक्तानी गराई तथा बोर्डमा भएको अनियमित खर्च अनुमोदन गरी हिनामिना गरेको।
नेपाल पर्यटन बोर्डका अन्य २९ कर्मचारीलाई हस्ताक्षर गर्न दवाव दिएको देखिएको साथै अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई अनुसन्धानमा सहयोग पुर्यानएको हुदाँ निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९(१५) बमोजिम सजायको हकमा पूर्ण छुट गर्न अनुरोध गर्दै निजहरुलाई सरकारी साक्षीको रुपमा प्रस्तुत गरिएको छ। उक्त कार्यमा संलग्न देखिएका तपसिलमा उल्लेखित नेपाल पर्यटन बोर्ड एवं अन्य सम्बद्ध २३ जना पदाधिकारी तथा कर्मचारीहरु लाइ कसुर अनुसार बिगो दाबी गरी आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

यस आयोगबाट मिति २०७१।४।१ देखि २०७१।१२।२० सम्म चालू आर्थिक वर्ष २०७१।७२ को अवधिमा आरोप पत्र दायर गर्न निर्णय भएका २८७ वटा निर्णय मध्ये २७० वटा आरोपपत्र सम्मानित विशेष अदालत, काठमाडौंमा दायर गरिसकिएको छ ।

3 1 2

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>