समाचारआइतबार, चैत्र २२, २०७१
विवादित विषय महाधिवेशनले टुङ्ग्याउने गरी पार्टी एकता हुनेः कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल र राप्रपाबीच विवादित विषयलाई संयुक्त महाधिवेशनबाट टुङ्ग्याउने गरी पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् ।
रिपोर्टर्स क्लबले २२ चैतमा काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले सिद्धान्तको विवादमा बहस कायमै राखेर नमिलेका विषयलाई फरक मतका रुपमा सम्मान गर्दै उपयुक्त समयमा उपयुक्त निकायबाट निर्णय गर्ने गरी पार्टी एकता हुने विश्वास व्यक्त गरे ।
उनले भने, “पार्टी एकताको आधार गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षतालाई भन्दा पनि प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको आवश्यकताको महसुस नै हो । संविधान निर्माण भएपछि पार्टीको प्राथमिकता फेरिएर आर्थिक समृद्धि र सुशासनमा जोड दिन्छौँ ।”
सनातन धर्म सापेक्ष राष्ट्र हुने गरी सबै धर्म सम्मानसहितको सनातन हिन्दू राष्ट्र बनाउनुपर्ने विचार व्यक्त गर्दै उनले त्यसको अर्थ धर्मकै आधारमा कानुन र शासन बनाउनुपर्छ भन्ने आफूहरुको माग नरहेको बताए ।
अध्यक्ष थापाले छिटो संविधान निर्माण गर्न सत्ता पक्षले बहुमतको दम्भ र निषेधको राजनीति छाड्नुपर्ने र विपक्षीले पनि आन्दोलन छाड्नुपर्ने सुझाव दिँदै कसैको पनि एजेन्डालाई निषेध नगरी संविधानसभामा बसेर निकास खोजे संविधान आउने विश्वास व्यक्त गरेका थिए ।
रासस
