समाचारआइतबार, चैत्र २२, २०७१
कीर्ते गर्ने पूर्व प्रहरी नायब उपरीक्षक पक्राउ
सरकारी कार्यालयको नक्कली छाप तथा लेटरप्याड बनाई कीर्ते गर्ने पूर्व प्रहरी नायब उपरीक्षक चेतेन्द्र पन्तलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
सापिङ–१, काभ्रेका ५० वर्षीय पन्तले सञ्चालन गर्दै आएको माता मनकामना ट्रेडर्समा छापा मार्दा नक्कली छाप तथा लेटरप्याड भेटिएको प्रहरीले जनाएको छ । खानतलासीका क्रममा यातायात व्यवस्था कार्यालय एकान्तकुनाको छाप, प्रहरी निरीक्षकको छाप, शाखा अधिकृतको छाप, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथको छाप, लेटरप्याड, कार्यालय प्रमुखको छापसमेतका नक्कली छाप तथा लेटरप्याडसमेत बरामद गरिएको महाशाखाले जनाएको छ ।
पन्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडाैं पठाइएको छ ।
