समाचारसोमबार, चैत्र २३, २०७१

गौर: वार्ता फेरि शुरु गर्नेगरी स्थगित

हिमालखबर

रौतहटको गौरमा केही दिनदेखि जारी आन्दोलनको विषयलाई लिएर राति अबेर सुरु भएको वार्ता पुनः शुरु गर्नेगरी स्थगित भएको छ ।

क्षेत्रीय प्रशासकसहितको सरकारी पक्ष र आन्दोलनरत पक्षबीच २२ चैत राति ९:४० बजेबाट वार्ता शुरु भएको थियो । वार्तामा सशस्त्र प्रहरीको गाडीको ठक्करबाट २० चैत राति मृत्यु भएका रामअशिष ठाकुरलाई शहीद घोषणा नगरेसम्म थप कुरा नहुने आन्दोलनरत पक्षले अडान राखेपछि वार्ता अगाडि बढ्न सकेन ।

यतिखेर उच्च सुरक्षा अधिकारी तथा आन्दोलनरत दलहरूबीच वार्ताका सम्बन्धमा छुट्टाछुट्टै बैठक तथा छलफल भइरहेको छ । सेवा केन्द्र चन्द्रनिगाहपुरमा स्थापना गर्न नदिने माग राख्दै सदरमुकाम गौरमा पाँच दिनदेखि आन्दोलन जारी रहेपछि रौतहटको गौर नगरपालिकाको सभाहलमा राति वार्ता शुरु भएको थियो ।

वार्तामा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका क्षेत्रीय प्रशासक रामकुमार आचार्य, मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रहरीनायब महानिरीक्षक प्रहरीनायब महानिरीक्षक देवेन्द्र सुवेदी, सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयाका सशस्त्र प्रहरीनायब महानिरीक्षक रामशरण पौडेललगायतको सहभागिता थियो ।

त्यस्तै, नागरिक समाजका अध्यक्ष जगन्नाथ केशरी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष शैलेन्द्रकुमार गुप्ता, एमाओवादीका केन्द्रीय सदस्य एवम् सभासद् अशोक जयसवाल, तमलोपाका बाबुलाल साह, अनिल सिंह, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता, एमाओवादीका जिल्ला इन्चार्ज विन्देश्वर राय यादव, रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष कन्थमणि जयसवाललगायत थिए ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आजै पुनः वार्ता शुरु गरिने बताएका छन् । उनले आन्दोलनरत दलका नेताहरू नियमित सम्पर्कमा रहेकाले कुनै पनि बेला वार्ता शुरु हुने जानकारी दिए ।

वार्तामा आन्दोलनरत पक्षका आठबुँदे मागमध्ये गाडीको ठक्करबाट मृत्यु भएकालाई शहीद घोषणा गर्ने र जिल्लास्थित सुरक्षा अधिकारीलाई कारबाही गर्ने सम्बन्धमा सहमति हुन नसकेपछि वार्ता स्थगित भएको वार्ताटोलीका सदस्य एवम् नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष गुप्ताले बताए ।

केही दिनदेखि असहज परिस्थितिका कारण तनावग्रस्त बन्न पुगेको सदरमुकाम गौर बिस्तारै सहज बन्दै गएको छ ।

आन्दोलनरत पक्षले सशस्त्र प्रहरीको भ्यानबाट मृत्यु भएका रामआशिसको शवलाई गौर नगरपरिक्रमा गर्ने तयारी गरेका छन् ।

गौर बजार क्षेत्र शान्त अवस्थामा रहे तापनि शवयात्राका क्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षाकर्मीलाई सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

यहाँका उद्योगी व्यवसायीले वार्ताबाटै समस्या समाधान हुने भएकाले वार्तामा थप गम्भीर बन्न दुवै पक्षलाई आग्रह गरेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>