समाचारमंगलबार, चैत्र २४, २०७१
जनकपुरमा रिक्सासहित १७ सवारी साधन तोडफोड

जनकपुर खानेपानी डिभिजन कार्यालयमा एमाओवादीको नेतृत्वमा भएको तोडफोड । तस्वीर: ईश्वरचन्द्र झा
एमाओवादी नेतृत्वको मोर्चाका कार्यकर्ताले जनकपुरको खानेपानी डिभिजन कार्यालय र सवारी साधनमा तोडफोड गरेका छन् ।
बन्द गराउँदै हिडेका मोर्चाका नेता कार्यकर्ताहरुले जनकपुरको खानेपानी डिभिजन कार्यालयमा पार्किंग गरिराखेको बा १ झ ५३१४ नम्बरको टोयोटा गाडी तोडफोड गर्नुका साथै कार्यालयमा ढुंगामुढा गरेका छन् ।
माओवादीका देब सागर दासको नेतृत्वमा रहेका प्रदर्शनकारीले गाडी सँगै कार्यालय कोठाभित्र रहेका कम्प्युटरलगायतका उपकरण भाटाले हान्दै ध्वस्त पारेका छन् ।
डिभिजन प्रमुख धर्बेन्द्र केशरीका अनुसार कार्यालयको करिब २ लाख बराबरको सम्पती नष्ट भएको छ ।
बन्दकर्ताहरुले जनकपुरका विभिन्न स्थानमा मात्रै १७ वटा सवारीसाधन तोडफोड गरेका छन् ।
उनीहरुले १२ वटा मोटरसाईकल, ३ वटा ई रिक्सा र २ वटा ठूला सवारीमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ईश्वरचन्द्र झा, जनकपुर
