समाचारमंगलबार, चैत्र २४, २०७१
पहिलो दिनको समिक्षापछि बन्दका बाँकी कार्यक्रम फिर्ता
एमाओवादी र मधेशकेन्द्रित दलहरु संलग्न मोर्चाले पहिलो दिनको नेपाल बन्दलगायत आमहड्तालको व्यापक विरोध भएपछि बन्दका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको छ ।
एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा २४ चैत साँझ अबेरसम्म बसेको मोर्चाको बैठकले २५ र २६ चैतको बन्दका कार्यक्रम फिर्ता लिएको हो ।
संविधानसभाको बैठक बहिस्कार गरी सडक आन्दोलनको घोषणा गरेको मोर्चाले आन्दोलनका अन्य कार्यक्रमसँगै २४ चैतदेखि तीन दिने नेपाल बन्दको घोषणा गरेको थियो ।
एमाओवादी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलले संविधानसभाको बैठक ३० चैतका लागि तय गरेकाले नयाँ राजनीतिक परिस्थिति देखापरेको तथा नागरिक समाज र उद्योगी व्यवसायीका तर्फबाट पनि बन्द फिर्ता लिन आग्रह गरिएकाले तत्कालका लागि फिर्ता लिइएको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिले अध्यक्ष दाहाललाई भेटी बन्दलगायतका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । भने जनस्तरबाट र सामाजिक सञ्जालमा बन्दको व्यापक विरोध समेत भएको थियो ।
यसैबीच, मोर्चाको बैठकले सोमबार साँझ नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरी प्रशासनबाट धरपकडबाट सयभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको घटनाप्रति आपत्ति जनाएको छ ।
मोर्चाले बन्दका क्रममा मुलुकका विभिन्न भागमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको अविलम्ब रिहाइको माग समेत गरेको छ ।
बैठकमा पूर्व घोषित आन्दोलनको समग्र परिस्थितिको समीक्षा गर्नुका साथै भावी कार्यक्रमबारे गम्भीर छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए ।
यस्तै मोर्चाले चैत २६ मा मोर्चाका सबै शीर्ष नेता सहभागी भई सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।
२७ चैतमा मोर्चाको बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने पनि अध्यक्ष दाहालले बताएका थिए ।
