समाचारबुधबार, चैत्र २५, २०७१
गौर बन्द फिर्ता, आन्दोलन स्थगित
रौतहटको गौरमा एकसातादेखि जारी आन्दोलन उद्योग वाणिज्य संघको अगुवाईमा भएको सहमतिपछि फिर्ता भएको छ ।
२४ चैत राति उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन र नेपाल पत्रकार महासंघको सहभागितामा राति १२ बजेसम्म चलेको वार्ताबाट निकास निस्किएको प्रमुख जिल्ला अधिकारी मदन भुजेल जानकारी दिएका छन् ।
आन्दोलनका क्रममा घाइते भएकाको उपचार, प्रहरीको गाडीको ठक्कर बाट मृत्यु भएका राम अशिष ठाकुरलाई शहीद घोषणाको लागि स्थानीय प्रशासनले पहल गर्ने, मृतकका परिवारलाई तत्कालका लागि ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने र परिवारका एक सदस्यलाई रोजगारी दिने लगायतका विषयमा सहमति भएपछि आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको उद्योग वाणिज्य संघले जनाएको छ ।
लगातार सात दिनको बन्दले अस्तब्यस्त बनेको गौर बन्द फिर्ता भएसँगै सामान्य बन्न थालेको छ ।
यद्यपी केही स्थानीय राजनीतिक दलका नेताहरु भने बन्द र आन्दोलनलाई कायमै राख्ने मनसायमा रहेको स्थानीय पत्रकार सञ्जय साहले जानकारी दिए । “अहिले बजार आधा खुलेको छ, अलमलको अवस्था छ । केही बेरमा तस्वीर प्रष्ट होला,” उनले भने ।
एमाओवादी र मधेशकेन्द्रित दलका शीर्ष नेताहरुले २६ चैतमा गौर पुगेर आमसभा गर्ने कार्यक्रम तय भएपछि त्यतिन्जेललाई आन्दोलनको माहोल बनाइराख्ने र उनीहरुकै अगुवाईमा बन्द फिर्ताको घोषणा गर्ने नेताहरुको मनसाय रहेको स्थानीयले बताए ।
लामो समयको बन्दले कष्टकर जीवन विताइरहेका गौरबासी भने अब थप आन्दोलनको पक्षमा छैनन् ।
रौतहटको चन्द्रनिगाहपुरमा सेवाकेन्द्र स्थापना गर्ने सरकारको निर्णयको विरोधमा गौर उद्योग बाणिज्य संघको नेतृत्वमा भएको आन्दोलन सरकारले उक्त निर्णय फिर्ता लिएपछि पनि लम्बिदै आएको थियो ।
