थप समाचारबिहीबार, चैत्र २६, २०७१
मोबाइल कार्निभल हुने
नयाँ वर्षको अवसर पारेर पाको युथ क्लबले २८ चैतदेखि ‘मोबाइल कार्निभल’ को आयोजना गर्ने भएको छ ।
क्लबले २६ चैतमा पत्रकारसम्मेलन गरी १ वैशाखसम्म चल्ने उक्त महोत्सवका अवसरमा मोबाइल खरिदमा भारी छुट गरिने बताएको छ ।
क्लबका अध्यक्ष अमृत मानन्धरले पहिलोपटक यति ठूलो महोत्सवको आयोजना गरिन लागेको दाबी गर्दै यस महोत्सवमा एक हजार ५०० मोबाइल सेटको बिक्री गरी रु १४ करोडभन्दा बढीको व्यापार गर्ने लक्ष्य राखिएको बताए ।
नयाँ सडकस्थित ताम्राकार कम्प्लेक्सलाई ‘मोबाइल हब’का रुपमा विकास गर्ने लक्ष्यका साथ सो महोत्सवको आयोजना गरिन लागेको उनले जानकारी दिए । महोत्सवमा सहभागी एसएलसी दिएर बसेका विद्यार्थीमध्ये एक जनालाई रु ५० हजारको छात्रवृत्ति प्रदान गरिनेछ ।
मोबाइल खरिद गर्दा मूल्य, वारेन्टीजस्ता कुरामा ग्राहक ठगिने भएकाले महोत्सवमा यससम्बन्धी सचेतना कार्यक्रमसमेत गरिनेछ ।
महोत्सवमा स्वास्थ्य शिविर, मोबाइल प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, बालबालिकाका लागि मनोरञ्जनात्मक खेलकुद, गणेश पूजा, खाद्य महोत्सवलगायतका कार्यक्रम गरिनेछ ।
