समाचारबिहीबार, चैत्र २६, २०७१

तेस्रो संविधानसभाबारे विदेशीले कुरा उठाए

हिमालखबर

युरोपियन युनियनको संसदीय प्रतिनिधि मण्डलले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग संविधानसभाको तेस्रो निर्वाचनबारे सोधेका छन् ।

नेपाल भ्रमणमा रहेको युरोपियन युनियनको संसदीय टोलीले २६ चैतमा सभाध्यक्ष नेम्वाङसँग सहमतिमा संविधान बन्न नसक्ने अवस्थामा तेस्रो संविधानसभा निर्वाचनको सम्भावना बारे जिज्ञासा राखेको सभामुख सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

जवाफमा नेम्वाङले संविधानसभाको तेस्रो निर्वाचनबारे कल्पना गर्न पनि नसकिने भन्दै सहमतिमा जुट्नेमा आफू आशावादी रहेको बताएका थिए । नेम्वाङले उक्त प्रतिनिधिमण्डललाई  यहाँका दल र नेतासँगको भेटवार्तामा शीघ्र सहमति कायम गर्न दबाब दिन आग्रह गरेको जानकारी दिए ।

“चैत ३० गते ३ बजेसम्ममा दलहरुबीच सहमति नभए संविधानसभाका सदस्यले नै बनाएको नियम र स्थापित मान्यताबमोजिम प्रक्रियामा जानुको विकल्प छैन भन्ने जानकारी पनि गराएँ,” नेम्वाङले भने ।

वेलायतका तर्फबाट युरोपियन युनियनमा सांसद रहेकी जिन ल्याम्बेर्टको नेतृत्व मा रहेको उक्त प्रतिनिधिमण्डलले संविधान लेखन, भावी योजना र दलहरुबीच जारी वार्ताको प्रगतिबारे जिज्ञासा राखेको पनि सभाध्यक्षले सञ्चारकर्मीलाई बताए ।  टोलीमा नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङ्कको पनि सहभागिता थियो ।

चारवर्षको संविधानसभाको समयाबधि सकिन अझै तीन वर्ष बाँकी रहे पनि आफूले दलहरुलाई ३० चैत अघि नै सहमतिका लागि दबाब दिएको समेत नेम्वाङले जानकारी गराएका थिए ।

भेटका बेला संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, सचिव ठाकुरप्रसाद बराल, प्रवक्ता मुकुन्दप्रसाद पौडेल, सहप्रवक्ता सुदर्शन कुइँकेलको समेत उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>