समाचारबिहीबार, चैत्र २६, २०७१
सङ्घीय समाजवादी पार्टीका लिम्बूवान नेता पक्राउ
गैरकानूनी रुपमा हतियार राखेको आरोपमा सङ्घीय समाजवादी पार्टीका लिम्बूवान नेता जीवन सुब्बा पक्राउ परेका छन् ।
झापाको मेचीनगर–१० काँकडभिट्टास्थित प्रगतिटोलमा यमनाथ कोइरालाको घरमा डेरा गरी बस्दै आएका ४४ वर्षीय सुब्बालाई प्रहरीले २५ चैत राति १० बजे घरैबाट पक्राउ गरेको हो ।
प्रहरीले लिम्बूको डेरामा छापा मार्दा एक राउण्ड गोली लोड भएको एक थान कटुवा पेस्तोल भेटिएको बताएको छ । जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा आएको प्रहरी टोलीले सुब्बाको घरमा छापा मारेको थियो । त्यसबेला उनी घरैमा थिए ।
सुब्बाको डेरामा डसनामुनि लुकाएको अवस्थामा पेस्तोल र छेउमा चार राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।
प्रहरीले सुब्बाले प्रयोग गर्दै आएको एमएल ०६२६१० नम्बरको स्कर्पियो जीप समेत नियन्त्रणमा लिएको छ । जीपमा एक थान खुकुरी समेत भेटिएको प्रहरीको भनाइ छ ।
मोरङको केरौन–१ घर भएका लिम्बू लामो समयदेखि मेचीनगर–१० काँकरभिट्टामा डेरामा बस्दै आएका थिए । उनी माओवादी र लिम्बूवान पार्टीमा विभिन्न जिम्मेवारी लिइसकेका राजनीतिक कार्यकर्ता हुन् । सङ्घीय समाजवादी पार्टीको गठनपछि उनी त्यता लागेका हुन् ।
हाल उनी सङ्घीय समाजवादी पार्टीको लिम्बूवान प्रदेश समिति र भ्रातृ सङ्गठन युवा सङ्घका केन्द्रीय सदस्य छन् ।
यता, सुब्बाका परिवारले भने उनलाई फसाउने षडयन्त्र भएको दाबी गरेको छ ।
रासस
