समाचारशुक्रबार, चैत्र २७, २०७१
ट्रेड युनियनलाई राजनीतिक गतिविधि नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ट्रेड युनियनहरुलाई सामूहिक सौदावाजी बाहेकका गतिविधि नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता अर्जुनकुमार अर्यालले दलहरुको आवद्धता भएका विभिन्न कर्मचारी संघ–संगठन खारेजी र कर्मचारी हकहितका लागि सामूहिक सौदाबाजी गर्नेबाहेक अन्य कुनै पनि राजनीतिक गतिविधि गर्न नदिन लगायतका माग राखी दायर गरेको रिटमा सर्वोच्च अदालतले २७ चैतमा अन्तरिम आदेश जारी गर्दै राजनीतिक हस्तक्षेप हुनेगरी कुनैपनि क्रियाकलाप नगर्न ट्रेड युनियनहरुको नाममा आदेश जारी गरेको हो ।
२५ चैतमा दायर गरिएको रिटमाथि सुनवाई गर्दै न्यायाधीश चौलेन्द्र शमशेर जबराको इजलाशले ट्रेड युनियनहरुलाई राजनीतिक गतिविधिमा रोक लगाएको हो ।
सर्वोच्चले ट्रेड युनियनहरुलाई सामूहिक छलफलका लागि अदालतमा उपस्थित हुन समेत आदेश दिएको छ ।
