समाचारशुक्रबार, कार्तिक १७, २०६९
उन्नाइस वर्ष पहिले शिलान्यास भएको सडक अझै खुलेन
५७ किलोमिटर लामो उक्त सडकको काम सम्पन्न नहुँदा बाजुरा सदरमुकाम सडक सञ्जालमा जोडिन नसकेको सुदूरपश्चिमकै एक मात्र जिल्ला भएको छ ।
गरीबी, खाद्दान्न अभाव, राज्यबाट प्रदान गरिने सेवाहरुको पहुँच भन्दा टाढा रहेका बाजुराबासीको आवाज सिंहदरबारले सुन्न सकेको छैन ।
यातायात नभएका कारण यहाँ दैनिक उपभोग्य सामानको बेला बेला हाहाकार हुनेगर्छ । अत्यन्तै महंगो दाममा पनि उपभोग्य सामान सहज उपलब्ध नहुँदा दशैंमा हाहाकार भएको थियो । कहिलेकाहीं सदरमुकाम मार्तडीसम्म ट्र्याक्टर चल्ने गरे पनि गत बैशाखदेखि त्यो पनि अवरुद्ध छ ।
साँफे–मार्तडी सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख र अन्य कर्मचारीको सरुवा र सरकारले समयमा बजेट दिन नसक्दा सडक बन्न नसकेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे बताउँछन् ।
“यातायात नचलेको र जिल्लामा सामान ढुवानी गर्ने समयमा कैलालीमा भएको अखण्ड सुदूरपश्चिम बन्दका कारण वर्षात् अगावै जिल्लामा आउनुपर्ने सामान आउन पाएन र अहिले दशैंको बेला सामान नै पाइएन, आएका ग्राहकलाई धमाधम फिर्ता गर्न परिरहेको छ”, सदरमुकाम मार्तडीका व्यापारी तुरा रोकायाले भने ।
सदरमुकाम मार्तडीसम्म नियमित यातायात सञ्चालनका लागि पाँचवटा पक्की पुल बनाउन आवश्यक छ । तर बजेट नआएको भन्दै सडक विभागले कुनै काम अघि बढाएको छैन ।
