समाचारशनिबार, चैत्र २८, २०७१
बाग्मती सफाइ महाअभियान: ५६ किलोमिटर लामो मानव साङ्लो
बाग्मती सफाइ महाअभियान १००औँ हप्ता विशेष कार्यक्रम अन्तर्गत सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा हजारौँको सहभागिता भएको छ ।
राष्ट्रिय गानबाट शुरु भएको महाअभियान बाग्मती नदी प्रणालीको सरसफाइ सम्बन्धमा आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो । सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्म नदीको दुई किनारामा लहरै उभिएर महाअभियानमा सहभागीले ५६ किलोमिटर लामो मानव साङ्लो बनाउँदै ‘बाग्मती नदी सफा गछौँ’ ,‘सफा गर्न सक्छौँ’ ‘हामीले नगरे कसले गर्छ’, ‘अहिले नगरे कहिले गर्ने’ भन्ने सपथसमेत लिएका छन् ।
बाग्मती सफाइ महाअभियानका अभियन्ता मुख्यसचिव लीलामणि पौड्यालले सुन्दरीजल ओख्रेनी माविमा सफाइको नेतृत्व गरेका छन् ।
सफाइका लागि सरकारले विभिन्न मन्त्रालयका १३ जना सचिवलाई विभिन्न १३ स्थानमा संयोजक तोकेको छ भने विभिन्न क्षेत्रमा स्थापित १२ जना व्यक्तित्वलाई समन्वयकर्ताको जिम्मा दिइएको छ ।
सफाइ महाअभियानमा मानव साङ्लो बनाइएको छ र मानव सभ्यताको मुहानको रुपमा लिइएको नदी सफा गरौं भन्ने सन्देश दिन खोजिएको छ ।
विश्वका पुरानो मानव सभ्यतामध्ये बाग्मती सभ्यता पनि एक हो । ‘बाग्मती बा’ का रुपमा परिचित हुतराम वैद्यले शुरु गरेको बाग्मती सफाइ अभियानले आज सार्थकता पाउन लागेको हो । बाग्मती सफाइ अभियान ५ जेठ २०७० बाट शुरु भएको हो ।
प्रधानमन्त्री सुशील कोइराला पशुपतिनाथ–तिलगङ्गा क्षेत्रमा सहभागी भएका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली क्षेत्रमा सहभागी भएका छन् । अभियानमा अध्यक्ष ओलीका बुबा मोहन ओलीसमेत सहभागी छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तिनकुने क्षेत्रमा सहभागी छन् ।
यस्तै चोभार सुन्दरीघाटमा हजारौँको सहभागिता छ । अभियानका अभियन्ता पूर्व सचिव किशोर थापाले अभियान सफल भएको जानकारी दिएका छन् ।
सुन्दरीघाटमा कीर्तिपुर क्षेत्र र त्यस आसपासका हजारौँको सहभागिता रहेको कीर्तिपुर पर्यटन विकास समितिका सचिव वीरेन्द्र शाक्यले जानकारी दिए ।
अभियानलाई सफल बनाउन बिहानैदेखि सुरक्षाकर्मी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि सहभागी भएका छन् ।
तिलगङ्गा क्षेत्रमा सफाइका लागि सहभागी हुनुभएका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले हामीले गरेको फोहर हामीले नै सफा गरौँ भन्ने प्रतिक्रिया दिएका छन् ।
यसैगरी प्रसूतिगृह क्षेत्रमा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, दलका सभासद्, सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लको नेतृत्वमा सफाइ अभियान शुरु भएको छ ।
उक्त क्षेत्रमा सूचना तथा सञ्चार मन्त्रालय र मातहतका कार्यालयका साथै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारी र स्थानीयवासीको ठूलो सङ्ख्यामा उपस्थिति थियो ।
महाअभियानमा नेपाली सेनाले विभिन्न स्थानमा पाँच हजार, सशस्त्र प्रहरी बलले तीन हजार र नेपाल प्रहरीले पाँच हजार जनशक्ति परिचालन गरेको छ ।
