समाचारशनिबार, चैत्र २८, २०७१
संविधान निर्माणमा पनि यस्तै ऐक्यबद्धता रहोस्ः नेम्वाङ
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आन्दोलनकारी शक्ति र सरकारको नेतृत्व गरेका राजनीतिक दल बाग्मती सफाइ महाअभियानमा सहभागी भएर देखाएको ऐक्यबद्धता संविधान निर्माणमा समेत कायम हुनुपर्ने बताएका छन् ।
महाअभियानमा लागेकालाई हौस्याउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसहित कुपण्डोल पुगेका अध्यक्ष नेम्वाङले बाग्मती सफा गर्न निर्मित मानव साङ्लोझै संविधान निर्माणका लागि दललाई पनि एकजुट हुन आग्रह गरे।
उनले भने, ‘‘आज जसरी मानव साङ्गो बनेको छ, त्यो सिंहदरबार र संविधानसभा भवनबाट टाढा छैन, यो एकताको सन्देश संविधान लेखनका लागि पनि बनाउन म सबै राजनीतिक दललाई आग्रह गर्दछु ।’’
बाग्मतीलाई सफा गर्न आवश्यक पर्ने नीति निर्माणमा सहयोग गर्न आफू तत्पर रहेको भन्दै अध्यक्ष नेम्वाङले नदीको फोहर उठाउने र फेरि फाल्ने प्रवृत्ति सधैँका लागि अन्त्य गर्न जरुरी भएको बताए ।
बाग्मती मात्र नभई मुलुकका सहरी क्षेत्रका अन्य नदीनालाको सफाइमा पनि सबैको ध्यान जानुपर्ने उनको धारणा थिए ।
सहमतिका आधारमा संविधान बनाउन बल पुगेको छ: दाहाल
बाग्मती सफाइ महाअभियानलाई सफल बनाउन तिनकुने क्षेत्रमा सहभागी भएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै बाग्मतीमा फोहर नफाल्न र अब उप्रान्त त्यसको पवित्रता र स्वच्छता कायम गर्न आज भएको उत्साहजनक सहभागिताले सबैलाई प्रेरणा मिलेको बताए ।
उनले सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई पनि यस्तै एकताका साथ अगाडि बढाउन महाअभियानले बल पुर्याउने विश्वास व्यक्त गरे ।
महाअभियानलाई सफल पार्न काठमाडौँवासी बाग्मती नदी किनारमा ओइरिएका छन् । अपेक्षा गरेभन्दा कैयौँ गुणा ज्यादा कार्यक्रममा सहभागी भएपछि त्यसलाई व्यवस्थित गर्न भने हम्मेहम्मे परेको थियो ।
‘बाग्मती नेपाली सभ्यताको मुहान’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाग्मती नदी नेपालको सभ्यता भएकाले त्यसको संरक्षणमा प्रतिबद्ध भएर सारा नेपाली लाग्नुपर्नेमा जोड दिएका छन् ।
महाअभियानमा सहभागी हुन थापाथली क्षेत्रमा पुगेका अध्यक्ष ओलीले नेपालको सभ्यता बाग्मतीको सभ्यतासँग गाँसिएको बताउँदै उहाँले सफाइ अभियानलाई निरन्तरता दिनसमेत आग्रह गरे ।
