समाचारआइतबार, चैत्र २९, २०७१

संविधानसभा सदस्य उपनिर्वाचनः मतगणना हुँदै

हिमालखबर

बागलुङ क्षेत्र नं १ मा २८ चैतमा भएको संविधानसभा सदस्य उपनिर्वाचनमा ७३ प्रतिशत मत खसेको छ ।

कुल ५२ हजार २०२ मतदातामध्ये करिब ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गए राति १२ बजेभित्र सबै मतदान केन्द्रबाट मतदान उपकरण सदरमुकाम आइसकेको छ ।

आज बिहान सर्वदलीय बैठक बसेर मतगणना शुरु गरिने जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए ।
“बिहान नै सर्वदलीय बैठक बस्छ, त्यसपछि आचारसंहिता बनाउने, मुचुल्का उठाउनेलगायत काम गरेपछि तत्काल मतगणना शुरु हुन्छ, गणना शुरु भएको चार/पाँच घन्टामा परिणाम सार्वजनिक हुन्छ,” उनले भने ।

अधिकृत उपाध्यायले केही ठाउँमा सामान्य विवाद भए पनि कुनै अप्रिय घटना नभएको जानकारी दिए ।

उन्नाइस गाविस र एक नगरपालिकाका ३५ मतदानस्थलमा रहेका ७० मतदान केन्द्रमा मतदान भएको थियो । राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदानमा छन् ।

यसअघिको संविधानसभा निर्वाचनमा विजयी नेपाली काँग्रेसका सभासद् हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी, नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य मनाकुमारी केसी, एमाओवादीका कृष्णबहादुर केसी, राष्ट्रिय जनमोर्चाका नेत्रबहादुर बुढाथोकी, राप्रपा नेपाल र राप्रपाबाट साझा उम्मेदवार नवीनचन्द्र गर्वुजा मगर र नेपाल परिवार दलका बाबुराम शर्मा प्रतिस्पर्धामा छन् ।

यस्तै नेकपा मालेका कुलबहादुर किसान, सङ्घीय समाजवादी पार्टीका रेशम थापा मगर, राष्ट्रवादी एकता पार्टीका क्षेत्रप्रताप थापा र राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुन, स्वतन्त्र उम्मेदवारहरु तुलसी थापा, नैना केसी र सरस्वती पन्त पनि प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा काँग्रेसका खड्का १३ हजार ५०० मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हिराबहादुर खत्रीले ११ हजार ९६३, एमाओवादीका कृष्ण केसीले छ हजार ३ र राष्ट्रिय जनमोर्चाका तीर्थसिंह थापाले दुई हजार १५९ मत ल्याएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>