समाचारशुक्रबार, बैशाख ४, २०७२
जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

स्वास्थ्यय चौकीमा उपचारका लागि पुगेका फ्लूका विरामी । तस्वीर: बद्री पन्त
जाजरकोटमा तीन सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लूबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी गाविस–२ का ५० वर्षीय बादी टमटा, अर्छानी–७ का ५८ वर्षीय हंशबहादुर टमटा र अर्छानी–४ का दुई वर्षीया बालिका ऋतु टमाटाको उपचारका क्रममा ४ बैशाखमा मृत्यु भएको छ ।
स्वास्थ्यकर्मी छैनन्
जाजरकोटको ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको छ ।
दुई सय ३५ जना स्वास्थ्यकर्मीको दरबन्दीमा रहेको १७४ जनाको पदपूर्ति भएको छ । त्यसमा पनि मेडिकल सुपरिटेन्डेन्ट र मेडिकल अधिकृतको दरबन्दी खाली छ । सिनियर अहेब नौ जना, अहेब चार जना र स्टाफ नर्स चार जनाको पद खाली छ ।
प्राथमिक स्वास्थ्य केन्द्रहरुमा पनि कागजमा आधा दरबन्दी रिक्त रहेको देखिए पनि कार्यस्थलमा स्वास्थ्य कर्मचारी पुगेकै छैनन् ।
फ्लू प्रभावित क्षेत्रमा नेपाली सेना र मिशन अस्पतालको टोलीले सेवा पुर्यारइरहे पनि त्यो पर्याप्त छैन ।
रासस
