समाचारशुक्रबार, बैशाख ४, २०७२
प्रधानमन्त्रीद्वारा राष्ट्रिय झन्डा ओढाएर थापाप्रति श्रद्धाञ्जलि

दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उपराष्ट्रपति परमानन्द झा । तस्वीर: रासस
प्रधानमन्त्री सुशील कोइरालाले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।
४ वैशाखमा दशरथ रंगशाला पुगेर प्रधानमन्त्री कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष थापाप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् । सार्वजनिक श्रद्धाञ्जलिका लागि ज्येष्ठ सभासद् थापाको पार्थिव शरीर अपराह्न १ बजेदेखि दशरथ रङ्गशालामा राखिएको छ ।
सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री कोइरालाले पञ्चायतकालमा पनि थापा कसरी सुधार गर्न सकिन्छ भनेर निरन्तर लागेको बताए । थापा मुलुकको शान्ति, लोकतन्त्र र स्थायित्वका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “नेपाली काँग्रेसबाट शुरु भएको थापाको राजनीतिक यात्रा सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशितालाई स्वीकार गर्दै हरेक परिवर्तनमा प्रजातन्त्रको पक्षमा नै रहेको थियो ।”
थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ । नेता थापाको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको थियो ।
थापाको राजनीतिक दृष्टिकोण स्पष्ट र व्यवहार सन्तुलित: राष्ट्रपति
राष्ट्रपति डा रामवरण यादवले पटक पटक नेपालको प्रधानमन्त्री रही राष्ट्रको गहन जिम्मेवारी बहन गरेका कुशल एवम् अनुभवी राजनीतिज्ञ थापाको निधनबाट सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको मुलुकका लागि ठूलो क्षति पुगेको बताएका छन् ।
राष्ट्रपतिले ४ बैशाखमा जारी गरेको शोक सन्देशमा आफ्नो सम्पूर्ण जीवन मुलुकको राजनीतिमा समर्पण गरेका थापाको समन्वयकारी भूमिका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सदाका लागि स्मरणीय रहने उल्लेख गरेका छन् ।
थापाको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति यादवले दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
