समाचारशुक्रबार, बैशाख ४, २०७२
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा खटपटी
पछिल्लो समय मधेसवादी तथा जनजाती दलबीच बढेको बेमेल र असन्तुष्टीले एमाअाेवादी नेतृत्वको ३० दलीय मोर्चामा खटपटी आएको छ ।
मोर्चाले आह्वान गरेको तीनदिने बन्द फिर्तालिएपछि असन्तुष्ट बनेका केही मधेसवादी तथा जनजाती दल मोर्चामा रहने की नरहने भन्ने अन्यौलमा छन् ।
एमाओवादीले परिस्थितिलाई बुझेर नरमबाटो अपनाउने सङ्केत पाएका मोर्चाआवद्ध दलहरु सशङ्कीत बनेका छन् । त्यस अनुरुप उनीहरुले पछिल्लो चरण मोर्चा नेतृत्व बेगर विभिन्न छलफल गरिरहेका छन् ।
मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अहिलेको अवस्थामा मोर्चा सक्रिय नदेखिएकाले मोर्चाभित्रका मधेसवादी र जनजाती पार्टीहरुबीच अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको बताए।
उनले मोर्चाबाट निर्णायक आन्दोलनमा जाने अवस्था नदेखिएकाले विकल्पको रुपमा छुुट्टै मोर्चा बनाएर जानेबारेसमेत कुराकानी भइरहेको बताए ।
