समाचारशनिबार, बैशाख ५, २०७२
जाजरकोट जस्तै फ्लू रुकुममा, चौखाबाङमा ८० बिरामी

फाइल तस्वीर: चौखाबाङ् गाविस
रुकुमको चौखाबाङ–५ हिल गाउँमा जाजरकोटमा जस्तै फ्लूका कारण ८० जना विरामी परेका छन् ।
छिमेकी जिल्ला जाजरकोटमा देखिएको जस्तै रोगका लक्षण हिलगाउँमा देखा परेको छ । उपचारमा संलग्न चिकित्सक मानबहादुर केसीका अनुसार विरामीहरुमा फ्लूकै लक्षण देखिएको छ । यद्यपी प्रयोगशालाको सुविधा नहुँदा लक्षणकै आधारमा उपचार गरिरहेको उनले जानकारी दिए ।
बिरामीहरुमा टाउको दुख्ने, रुघा लाग्ने, ज्वरो आउने र रिगंटा लाग्नेजस्ता लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ ।
जाजरकोटमा फैलिएको फ्लूका जस्तै लक्षण देखापरेपछि यहाँका जनता त्रसित बनेको गाविस सचिब गणेशकुमार शर्माले बताए ।
गाउँभर संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालयबाट चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेर ४ वैशाख साँझदेखि उपचार थालेको छ ।
अहिले सम्म ८० जनाको उपचार गरिसकेको उपचारमा संलग्न डाक्टर खत्रीले बताए । उनका अनुसार गाउँ–गाउँबाट बिरामीहरु आउने क्रम जारी छ ।
जुवा प्राथमिक विद्यालयमा उपचार गरिएका मध्ये १० जना सिकिस्त छन् ।
यस अघि जाजरकोटमा झाडापखाला फैलँदा रुकुममा पनि फैलिएकाले यसपटक पनि जाजरकोटजस्तै रोगको संक्रमण सरेको हुनसक्ने स्थानीयको अनुमान छ ।
लक्ष्मण केसी, रुकुम
