समाचारसोमबार, बैशाख ७, २०७२
तीन दल बैठकः शीर्षनेताले तीन दिनभित्र विवाद समाधान गर्ने
प्रमुख तीन दलले संविधान निर्माणका विवादित विषयमा तीन दिनभित्र सहमति जुटाउन शीर्षनेतालाई जिम्मा दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ७ वैशाखमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्षनेताको बैठकले १० गते बस्ने संविधानसभाको बैठकसम्म सहमति जुटाउने गरी शीर्ष नेतालाई जिमा दिएको हो ।
बैठकमा ५ माघमा भएको सहमतिलाई संविधान निर्माणको प्रक्रियामा अघि बढाउने र नमिलेका विषयमा सहमति जुटाउन शीर्षनेतालाई जिम्मा दिने निर्णय भएको कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सञ्चारकर्मीलाई जानकारी दिए ।
यसैबीच कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला आज इन्डोनेसिया जाने भएपछि उनले आफ्नो प्रतिनिधि तोक्ने सहमतिसमेत भएको छ ।
गत ५ माघमा मोटामोटी सहमति भएका तीन बुँदालाई मूर्तरुप दिने र चौथो बुँदामा लामो समय नअलमलिई टुङ्गो लगाउने बारेमा तीनवटै दल सहमतिमा पुगेको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।
उपाध्यक्ष श्रेष्ठका अनुसार बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगका सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णयको सरकारले पुनरावलोकन गर्ने समझदारी पनि भएको छ ।
सहमति भएका विषयलाई प्रक्रियाका रुपमा संविधानसभाको आगामी बैठकमा अघि बढाउने र नमिलेका विषयमा छलफल गर्दै जाने निर्णय भएको एमालेका प्रमुख सचेतक अग्नि खरेलले बताए ।
संविधान निर्माण प्रक्रियालाई अघि बढाउने सम्बन्धमा प्रमुख दलबीच सैद्धान्तिक सहमति भएको बताउँदै प्रमुख सचेतक खरेलले १० वैशाखसम्म केही सकारात्मक परिणाम आउने आशा व्यक्त गरे ।
प्रमुख दलहरुबीच ५ माघमा संविधानका विवादित विषयमध्ये न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा मोटामोटी सहमति भएको थियो भने राज्यको पुनः संरचनामा मात्र कुरा मिलेको थिएन ।
